सुर्खेत ,६ असोज ।
आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णाली प्रदेश सरकारले तयारी तीव्र बनाएको छ । प्रतियोगिताका लागि खेलाडी छनोट, पूर्वाधार व्यवस्थापन, बन्द प्रशिक्षण तथा खेलस्थलको तयारीलाई प्राथमिकताका साथ अघि बढाइएको हो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष तथा सामाजिक विकासमन्त्री जितबहादुर मल्लको अध्यक्षतामा शनिबार बसेको परिषद्को २४औँ बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुदको पूर्वतयारीस्वरूप जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता असोज १२ देखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
जिल्लास्तरीय छनोट सम्पन्न भएपछि असोज २६ देखि ३१ गतेसम्म प्रदेशस्तरीय खेलाडी छनोट गर्ने तयारी गरिएको परिषद्का उपाध्यक्ष प्रमोद हमालले जानकारी दिनुभयो । छनोट प्रतियोगिताका लागि परिषद्का सदस्यहरूलाई विभिन्न जिल्लाको संयोजकको जिम्मेवारीसमेत तोकिएको छ ।
प्रस्तावित योजनाअनुसार दैलेखमा कराँते र ह्यान्डबल, जाजरकोटमा खोखो, सल्यानमा टेबलटेनिस, रुकुम पश्चिममा कबड्डी, हुम्लामा तेक्वान्दो, जुम्लामा महिला भलिबल तथा हक्की, मुगुमा कबड्डी र कालीकोटमा पुरुष भलिबलका खेलाडी छनोट गरिनेछ । अन्य खेलका खेलाडी भने सुर्खेतबाट छनोट गर्ने तयारी गरिएको छ ।
छनोट भएका खेलाडीलाई कात्तिक १० गतेदेखि बन्द प्रशिक्षणमा राख्ने परिषद्को तयारी छ । उपाध्यक्ष हमालले खेलाडी छनोटको कार्यतालिका तयार भइसकेको बताउँदै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने विषय सम्बन्धित खेलस्थलको व्यवस्थापकीय तथा प्राविधिक अवस्थाको अध्ययनपछि अन्तिम टुंगो लगाइने जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि आवश्यक कार्ययोजना परिषद्को बैठकबाट स्वीकृत भइसकेको छ । संघीय सरकारअन्तर्गतको राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद विकास परिषद्बीचको समन्वयलाई थप प्रभावकारी बनाउने तयारीसमेत गरिएको छ ।
प्रतियोगिता लक्षित गरेर कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरेको छ । पूर्वाधार विकासका लागि नौ करोड रुपैयाँ, प्रतियोगिता आयोजनाका लागि पाँच करोड रुपैयाँ तथा खेलाडीको बन्द प्रशिक्षण, पूर्वतयारी, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र प्रदेश रंगशाला सञ्चालन तथा व्यवस्थापनका लागि तीन करोड ८५ लाख रुपैयाँ छुट्याइएको छ ।
संघ–प्रदेश समन्वयमा जोड
पटक–पटक मिति तोकिएर पनि स्थगित हुँदै आएको दशौँ राष्ट्रिय खेलकुदको नयाँ मिति नजिकिँदै गर्दा कर्णाली प्रदेश सरकारले संघीय सरकारसँगको समन्वयलाई पनि प्राथमिकता दिएको छ ।
राखेपको १२५औँ बोर्ड बैठकले गत साउन २८ गते दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णालीमा आयोजना गर्ने निर्णय गरेको थियो । यसअघि विभिन्न चरणमा तोकिएका मिति कार्यान्वयन हुन नसकेपछि यो पाँचौँपटक तोकिएको मिति हो ।
संघीय सरकारबाट प्रतियोगिता स्थगित नहुने प्रतिबद्धता पाएपछि प्रदेश सरकारले पूर्वाधार व्यवस्थापन, खेलाडी छनोट र प्रतियोगिताको व्यवस्थापकीय तयारीलाई अघि बढाएको हो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष तथा सामाजिक विकासमन्त्री मल्लले प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी संघीय सरकारको भए पनि व्यवस्थापनको ठूलो हिस्सा प्रदेशले सम्हाल्नुपर्ने भएकाले संघ र प्रदेशबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगिताका लागि होटल व्यवसायी, होमस्टे सञ्चालक तथा अन्य सरोकारवालासँग छलफल सुरु गरिएको छ । राखेपले गठन गर्ने विभिन्न विषयगत उपसमितिमा प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्नसमेत पहल भइरहेको छ ।
कर्णालीमा सञ्चालन हुने खेल तथा खेलस्थलको व्यवस्थापकीय र प्राविधिक अवस्था अध्ययन गर्न राखेपसँग प्राविधिक टोली पठाउनसमेत आग्रह गरिएको छ । प्रदेशका विभिन्न जिल्लामा खेल सञ्चालन गर्ने तयारी भएकाले खेलस्थल, खेलाडीको आवास, यातायात तथा अन्य व्यवस्थापनको अवस्था अध्ययन गरेपछि खेल सञ्चालन हुने स्थानको अन्तिम टुंगो लगाइनेछ ।
राखेपको निर्णयअनुसार प्रतियोगिताका लागि १४ वटा विषयगत उपसमिति रहने व्यवस्था गरिएको छ । समारोह, सुरक्षा, प्रचारप्रसार, आवास, स्वयंसेवक र यातायातलगायत उपसमितिमा प्रदेशको प्रतिनिधित्व रहने गरी तयारी अघि बढाउन कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आग्रह गरेको छ ।
प्रदेश रंगशाला हस्तान्तरणको चरणमा
दशौँ राष्ट्रिय खेलकुदका अधिकांश खेल सञ्चालन गर्ने लक्ष्यसहित वीरेन्द्रनगरमा निर्माण गरिएको कर्णाली प्रदेश रंगशाला पनि हस्तान्तरणको चरणमा पुगेको छ । निर्माणको काम सम्पन्न भइसकेको र निर्माण कम्पनीले रंगशाला हस्तान्तरण गर्ने तयारी गरेको परिषद्ले जनाएको छ ।
परिषद्का उपाध्यक्ष हमालका अनुसार मुख्यमन्त्रीको समय मिलाएर रंगशाला हस्तान्तरणको मिति तय गर्ने निर्णय भएको छ ।
एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ लागतमा निर्माण गरिएको रंगशालामा करिब १० हजार दर्शक क्षमताको प्यारापिटसहित विभिन्न खेलका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको छ । एमएसी–जीएसएल जेभीले निर्माणको जिम्मेवारी पाएको रंगशालामा फुटबल मैदान, चार सय मिटरको एथलेटिक्स ट्रयाक, पौडी पोखरी, दुईवटा कभर्ड हल, भलिबल कोर्ट, बास्केटबल, ह्यान्डबल, क्रिकेट मैदान तथा इन्डोर क्रिकेट हल, कबड्डी र खोखोलगायतका खेल पूर्वाधार छन् ।
फिफाको मापदण्डअनुसार १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल मैदान निर्माण गरिएको छ । वर्षाका बेला मैदानमा जमेको पानी २० देखि २५ मिनेटभित्र सुक्ने प्रविधिसमेत जडान गरिएको छ ।
त्यस्तै, करिब एक हजार पाँच सय दर्शक क्षमताको इन्डोर भलिबल कभर्ड हल, खेलाडीका लागि चेन्जिङ रुम, प्रतीक्षालय, विश्राम कक्ष, फिजियो तथा मेडिकल कक्ष निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार चार सय मिटर लामो एथलेटिक्स ट्रयाक निर्माण गरिएको छ, जहाँ हाइजम्प, लङजम्पलगायत एथलेटिक्सका विभिन्न विधाका प्रतियोगिता सञ्चालन गर्न सकिनेछ ।
रंगशालामा २५ मिटर चौडाइ र २५ मिटर लम्बाइको पौडी पोखरीसमेत निर्माण गरिएको छ ।
कर्णालीले २०७९ कात्तिक ३ गते पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको थियो । त्यसपछि पहिलोपटक २०८१ मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय भए पनि प्रदेश रंगशाला निर्माण सम्पन्न नभएका कारण प्रतियोगिता हुन सकेन ।
त्यसपछि २०८१ चैत २३ देखि ३० गतेसम्म र २०८२ जेठ ३ देखि १० गतेसम्म गरी दुईपटक नयाँ मिति तोकिए पनि प्रतियोगिता आयोजना हुन सकेन । चौथोपटक पनि मिति तोकिएर कार्यान्वयन हुन नसकेपछि पछिल्लोपटक राखेपको १२५औँ बोर्ड बैठकले २०८३ मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्बाट समेत निर्णय अनुमोदन भइसकेको र संघीय सरकारले यसपटक प्रतियोगिता स्थगित नगर्ने प्रतिबद्धता जनाएपछि कर्णाली प्रदेश सरकारले तयारीलाई तीव्रता दिएको जनाएको छ।









