बाँके ,१६ कार्तिक ।
बाँकेको खजुरा गाउँपालिकाले खेतमा धानको पराल, ठुटा तथा अन्य कृषिजन्य अवशेष जलाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। धान पाकेर काट्ने र भित्र्याउने क्रम बढेसँगै खेतमा बाँकी रहने बाली अवशेष जलाउने प्रवृत्ति बढ्न सक्ने भन्दै गाउँपालिकाले यस्तो कदम चालेको हो।
खेतमा पराल तथा ठुटा जलाउँदा वायु प्रदूषण बढ्नुका साथै मानव स्वास्थ्य, माटोको उर्वराशक्ति र वातावरणमा प्रत्यक्ष असर पर्ने भएकाले गाउँपालिकाले पालिकाभर यस्तो कार्य निषेध गरेको जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले धान काटेपछि खेतमा बाँकी रहने पराल, ठुटा तथा अन्य कृषिजन्य अवशेष जलाउने प्रवृत्ति बढ्दै गएको बताउनुभयो। उहाँले किसानलाई बाली अवशेष नजलाउन र त्यसको उचित व्यवस्थापन गरी वातावरण संरक्षणमा सहयोग गर्न आग्रह गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार पछिल्लो समय धान कटाइका लागि कम्बाइन हार्भेस्टरजस्ता आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै गएको छ। यस्ता उपकरणबाट धान काट्दा खेतमा ठूलो मात्रामा पराल र ठुटा बाँकी रहने भएकाले कतिपय किसानले त्यसलाई सहज रूपमा हटाउने उद्देश्यले आगो लगाउने गरेका छन्। तर यसरी बाली अवशेष जलाउँदा वायु प्रदूषण बढ्ने, माटोमा रहेका उपयोगी सूक्ष्म जीव नष्ट हुने, माटोको उर्वराशक्ति घट्ने तथा आगलागीको जोखिम बढ्ने भएकाले प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै फोहोरमैला व्यवस्थापन ऐन, २०६७, वातावरण संरक्षण ऐन, २०७६ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएका कानुनी व्यवस्थालाई आधार बनाएर खेतमा बाली अवशेष जलाउन पूर्ण प्रतिबन्ध लगाएको हो।
गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले धानको पराल तथा अन्य कृषिजन्य अवशेषलाई आगो लगाएर नष्ट गर्नुभन्दा उपयोगी वस्तुका रूपमा प्रयोग गर्न किसानलाई आग्रह गर्नुभएको छ। उहाँले पराललाई कम्पोस्ट मल बनाउन, पशु आहाराका रूपमा भण्डारण गर्न वा नजिकैका गौशालामा उपलब्ध गराएर सदुपयोग गर्न सकिने बताउनुभयो।
गाउँपालिकाले जारी गरेको सूचनामा प्रतिबन्धको बेवास्ता गरी बाली अवशेष जलाएको पाइएमा वा त्यस्तो कार्यबाट कुनै दुर्घटना तथा क्षति भएमा सम्बन्धित किसान स्वयं जवाफदेही हुनुपर्ने उल्लेख गरेको छ। साथै, प्रतिबन्धविपरीत कार्य गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही तथा जरिवाना गरिने चेतावनीसमेत दिएको छ।
धान भित्र्याएपछि खेत सफा गर्ने नाममा पराल र ठुटा जलाउने प्रवृत्तिले वातावरणीय प्रदूषणसँगै माटोको प्राकृतिक गुणस्तरमा समेत असर पार्दै आएको छ। यस्तो अवस्थालाई न्यूनीकरण गर्न गाउँपालिकाले प्रतिबन्धको निर्णय गरेसँगै किसानलाई बाली अवशेषको वैकल्पिक उपयोगबारे सचेत हुन आग्रह गरेको छ। किसानले पनि पराल तथा अन्य कृषिजन्य अवशेषको उचित व्यवस्थापनमा ध्यान दिन सके वातावरण संरक्षणसँगै कृषि उत्पादनका लागि आवश्यक माटोको उर्वराशक्ति जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।










