भेरी अस्पतालमा फोक्सो, सघन उपचार र निद्रा रोगको विशेषज्ञ सेवा सुरु

  • नमस्ते कर्णाली

  • बाँके ,१८ कार्तिक ।
    भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी रोग, सघन उपचार (क्रिटिकल केयर) र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले अस्पतालले मङ्गलवारदेखि एकैपटक तीनवटा नयाँ विशेषज्ञ सेवा सुरु गरेको हो।

    नयाँ सेवा सञ्चालनमा आएसँगै फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी विभिन्न समस्या भएका बिरामी, गम्भीर अवस्थाका बिरामी तथा निद्रासम्बन्धी समस्या भोगिरहेका सर्वसाधारणले भेरी अस्पतालबाटै विशेषज्ञ चिकित्सकीय परामर्श, परीक्षण तथा उपचार सेवा पाउने भएका छन्।

    विशेषज्ञ सेवाको अस्पताल विकास समितिका अध्यक्ष डा. लक्ष्मण सिग्देल, प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल, प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईं, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे र नर्सिङ प्रमुख पद्मादेवी देवकोटालगायतको टोलीले संयुक्त रूपमा उद्घाटन गरेको थियो।

    अस्पतालका अनुसार उक्त विशेषज्ञ सेवा ओपीडी कक्ष नम्बर ७ (ए) बाट प्रत्येक हप्ताको मङ्गलवार र बिहीबार उपलब्ध हुनेछ। निर्धारित दिनमा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सक्नेछन्।

    पछिल्लो समय फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी रोग, गम्भीर प्रकृतिका स्वास्थ्य समस्या र निद्रासम्बन्धी विकारबाट प्रभावित बिरामीको सङ्ख्या बढ्दै गएको अवस्थामा अस्पतालले सुरु गरेको यो सेवाले बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी यस्ता समस्याको पहिचान, उपचार र नियमित स्वास्थ्य निगरानीका लागि अन्यत्रका अस्पतालमा जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।

    भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले अस्पतालले पछिल्लो समय विशेषज्ञ स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिँदै आएको बताउनुभयो।

    उहाँले विशेषज्ञ सेवाको विस्तारले बाँकेसहित पश्चिम नेपालका विभिन्न जिल्लाका बिरामीलाई लाभ पुग्ने अपेक्षा गरिएको जनाउनुभयो।

    सरकारी स्वास्थ्य सेवाप्रति सर्वसाधारणको विश्वास बढाउन विशेषज्ञ सेवा, दक्ष जनशक्ति र उपचार सुविधाको विस्तार आवश्यक रहेको अवस्थामा भेरी अस्पतालको यो पहललाई महत्वपूर्ण रूपमा हेरिएको छ। नयाँ सेवाको प्रभावकारी सञ्चालन र निरन्तरताले यस क्षेत्रका नागरिकलाई आफ्नै जिल्लामा गुणस्तरीय स्वास्थ्य उपचार प्राप्त गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ।

  • १९ कार्तिक २०८३, बुधबार ०७:१६ प्रकाशित

  • Nabintech