सुर्खेत, १८ कार्तिक ।
डोल्पा जिल्ला कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ दामाचौरबाट पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता एसएसपी सन्तोष सिंह राठौरका अनुसार आज बिहान करिब साढे १० बजे उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना छन् । दुवै जना जबरजस्ती करणी मुद्दाका कैदी हुन् ।
उनीहरू १४ कार्तिकमा डोल्पाको ठुलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट भागेका आठ जना कैदीबन्दीमध्येका रहेको राठौरले जानकारी दिए । फरार कैदीबन्दीको खोजीका लागि चौरजहारी बेस क्याम्प र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको नेतृत्वमा पाँच सदस्यीय टोली खटिएको थियो ।
टोलीले खोलीबगरबाट आठबिसकोट–९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्दा दुई जना भाग्न खोजेका थिए । उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा डोल्पा कारागारबाट फरार कैदी भएको पहिचान खुलेको प्रहरीको भनाइ छ । पक्राउ परेका दुवै जनालाई प्रहरी चौकी गोतामकोटमा राखिएको छ ।









