बाँके,१ मंसिर ।
स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो मूल्य पाउने भएपछि बर्दियाका किसान रैथाने थारू आलुखेतीतर्फ आकर्षित हुन थालेका छन्। स्थानीय तहले बीउमा अनुदान उपलब्ध गराउन थालेपछि एक दशकअघि लोप हुने अवस्थामा पुगेको थारू आलुखेती पुनः विस्तार हुँदै गएको छ।
थारू समुदायमा पुस्तौँदेखि परम्परागत रूपमा खेती हुँदै आएको यो आलु स्वाद र गुणस्तरका दृष्टिले अन्य प्रजातिका आलुभन्दा फरक मानिन्छ। उत्पादन केही कम भए पनि बजारमा राम्रो मूल्य पाउने र उपभोक्ताको रोजाइमा पर्न थालेपछि किसानले यसको खेतीलाई व्यावसायिक रूप दिन थालेका हुन्।
बढैयाताल गाउँपालिका–६ मैनापोखरका किसान हाकिम थारूले गत वर्ष गाउँपालिकाबाट अनुदानमा प्राप्त बीउ लगाएर राम्रो उत्पादन भएपछि यस वर्ष खेतीको क्षेत्रफल दोब्बर बनाएका छन्। गत वर्ष एक कट्ठा क्षेत्रफलमा खेती गर्दा चार क्विन्टल आलु उत्पादन भएको र स्वादसँगै बजार मूल्य पनि राम्रो पाएपछि यस वर्ष दुई कट्ठामा खेती गर्न लागेको उहाँले बताउनुभयो।
‘स्थानीय थारू आलुको स्वाद राम्रो छ। गत वर्ष खेती गर्दा उत्पादन पनि राम्रो भयो र बिक्री गर्न पनि समस्या भएन। त्यसैले यस वर्ष खेती विस्तार गरेको हुँ,’ उहाँले बताउनुभयो।
मैनापोखरकै किसान परशुराम थारूले गत वर्ष दुई कट्ठा क्षेत्रफलमा थारू आलुखेती गरेर सात क्विन्टल उत्पादन गरेका थिए। उत्पादित आलुमध्ये चार क्विन्टल बिक्री गरेर २० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको उहाँले जानकारी दिनुभयो।
‘थारू आलुको बजार राम्रो छ। आलु किन्न ग्राहक घरमै आउने गरेका छन्। अन्य आलुको तुलनामा यसको माग पनि राम्रो छ। त्यसैले यसको खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ उहाँले भन्नुभयो। यस वर्ष पनि उहाँले थारू आलुखेतीलाई निरन्तरता दिनुभएको छ।
किसान मात्र होइन, उपभोक्ताको रोजाइमा पनि थारू आलु पर्न थालेको छ। बर्दियाको राजापुर नगरपालिका–८ घर भई नेपालगन्ज बस्दै आएकी सपना भट्टराई बजारमा उपलब्ध भएसम्म थारू आलु नै खरिद गर्ने गरेको बताउँनुहुन्छ। स्वादिलो हुनुका साथै लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले आलु उत्पादन हुने मौसममा किनेर वर्षभरि पुग्ने गरी राख्ने गरेको उहाँको भनाइ छ।
बर्दियामा उत्पादित थारू आलुको माग स्थानीय बजारमा मात्र सीमित छैन। नेपालगन्ज, कोहलपुर हुँदै काठमाडौँ र पोखरासम्म यसको माग पुग्ने गरेको राजापुरका किसान जगत चौधरी बताउनुहुन्छ।बजारमा माग बढ्न थालेपछि किसानले परम्परागत खेतीलाई पुनः निरन्तरता दिन थालेको उहाँले बताउनुभयो।
थारू आलुको संरक्षण र व्यावसायिक खेती प्रवद्र्धनका लागि जिल्लाका विभिन्न स्थानीय तहले पनि अनुदानका कार्यक्रम सञ्चालन गर्न थालेका छन्। बढैयाताल गाउँपालिकाका विभिन्न वडामा ३० हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएकामा पाँच हेक्टरमा थारू आलुखेती हुने गरेको गाउँपालिकाका कृषि प्रसार अधिकृत शरण चौधरीले जानकारी दिनुभयो।
उहाँ का अनुसार गाउँपालिकाले गत वर्ष आलुखेती विस्तार गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १६ क्विन्टल आलुको बीउ वितरण गरेको थियो। चालु आर्थिक वर्षमा पनि आलुखेती विस्तारका लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। किसानको माग र आवश्यकताका आधारमा उक्त बजेट थारू आलुखेती प्रवद्र्धनमा खर्च गर्न सकिने उहाँले बताउनुभयो।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका कृषि प्राविधिक अधिकृत फिर्तुमान चौधरीका अनुसार रैथाने बालीका रूपमा रहेको थारू आलु जिल्लाका आठवटै स्थानीय तहमा खेती हुँदै आएको छ। यसको खेती हुने क्षेत्रफल र उत्पादनको एकीकृत तथ्याङ्क उपलब्ध नभए पनि बारबर्दिया, राजापुर र ठाकुरबाबा नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा बढी खेती हुने गरेको उहाँले बताउनुभयो।
रैथाने बालीको संरक्षणका लागि लुम्बिनी प्रदेश सरकारले चार लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै उहाँले थारू आलु पनि रैथाने बालीअन्तर्गत पर्ने भएकाले उक्त बजेट यसको संरक्षण तथा प्रवद्र्धनमा खर्च गर्न सकिने बताउनुभयो।।
कृषि प्राविधिक चौधरीका अनुसार थारू आलुको अर्को विशेषता यसको भण्डारण क्षमता हो। अन्य प्रजातिका आलु भण्डारण गर्न शीतभण्डारको आवश्यकता पर्ने भए पनि थारू आलुलाई उचित वातावरणमा राख्न सके लामो समयसम्म सुरक्षित राख्न सकिन्छ। प्रकाश नपर्ने र ओसिलो ठाउँमा भण्डारण गरे वर्षभरि नै प्रयोग गर्न सकिने उहाँको भनाइ छ।
अन्य प्रजातिका आलुको तुलनामा थारू आलुको उत्पादन केही कम हुने भए पनि बजारमा राम्रो मूल्य पाइने भएकाले किसानका लागि यो आर्थिक रूपमा लाभदायक रहेको उहाँले बताउनुभयो। किसानका अनुसार थारू आलु प्रतिकिलो ४० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। स्वादिलो र भण्डारण गर्न सहज भएकाले उपभोक्ताले पनि यसलाई प्राथमिकता दिने गरेका छन्।
तर, पर्याप्त प्रचारप्रसार, व्यवस्थित बजारीकरण र उत्पादन विस्तारका कार्यक्रमको अभावमा थारू आलुले अझै अपेक्षाअनुसारको बजार पाउन सकेको छैन। रैथाने बालीको पहिचान जोगाउनुका साथै किसानको आम्दानी बढाउन यसको संरक्षण, व्यावसायिक उत्पादन र बजारीकरणमा स्थानीय तथा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने किसान अगुवा जगत चौधरीको सुझाव छ।
परम्परागत ज्ञान, स्थानीय स्वाद र आर्थिक सम्भावना बोकेको थारू आलुखेतीलाई संरक्षणसँगै व्यावसायिक उत्पादनमा जोड्न सके लोप हुने अवस्थामा पुगेको यो रैथाने बाली किसानको आम्दानीको भरपर्दो स्रोत बन्न सक्ने देखिन्छ।









