ठाकुरबाबामा ४७ युवालाई उद्यम विकास तालिम, व्यवसाय योजना प्रस्तुत

  • नमस्ते कर्णाली

  • बर्दिया ,१२ मंसिर ।

    युवालाई उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारतर्फ प्रेरित गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले बर्दियाको ठाकुरबाबा नगरपालिकामा ४७ जना युवालाई पाँचदिने युवा उद्यम विकास तालिम प्रदान गरिएको छ।

    बाँके युनेस्को क्लब (बीयूसी) र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित युवा सशक्तीकरणका लागि रूपान्तरण तथा नवप्रवर्तन (YETI-II) परियोजनाअन्तर्गत आयोजित तालिम सम्पन्न भएको हो।

    तालिमको मुख्य उद्देश्य युवाहरूको उद्यमशील ज्ञान, व्यावहारिक सीप र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै दिगो तथा बजारमुखी उद्यम स्थापना र सञ्चालन गर्न आवश्यक क्षमता विकास गर्नु रहेको थियो। अनुभवी सहजकर्ताद्वय दिनेश कुमार चौधरी र विनय दिल लामाले दुईवटा समूहमा तालिम सञ्चालन गर्नुभएको थियो।

    तालिमको समापन समारोहमा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकी, प्लान इन्टरनेशनल नेपालका वाईईटीआई परियोजना प्रमुख रमेश घिमिरे, क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधर, एफएएएमका बेदप्रसाद पंगाली तथा क्लबका सदस्य शंकर सिंह थारूलगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा परियोजना संयोजक राधेकृष्ण थारूले वाईईटीआई–दोस्रो परियोजनाको उद्देश्य, परिकल्पना, अपेक्षित उपलब्धि तथा कार्यान्वयन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो। उहाँले युवाको आर्थिक सशक्तीकरण, स्वरोजगार र दिगो जीविकोपार्जनका लागि उद्यमशीलताको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।

    त्यसैगरी, फिल्ड अफिसरद्वय सुनिता चौधरी र सृजना थारूले तालिमको व्यवस्थापन तथा समन्वय गर्नुभएको थियो।

    तालिमको समापन समारोहमा सहभागी युवाहरूले तयार पारेका व्यावसायिक योजनासमेत प्रस्तुत गरेका थिए। रिना थारू, आशा थारू, शिक्षया थारू र अनिता थारूले आफ्ना प्रस्तावित व्यावसायिक योजनामार्फत तालिमबाट प्राप्त ज्ञान, सीप र उद्यमशील सोच प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै आफ्नै व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

    समारोहलाई सम्बोधन गर्दै प्लान इन्टरनेशनल नेपालका परियोजना प्रमुख रमेश घिमिरेले युवाहरूलाई तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यावहारिक उद्यममा रूपान्तरण गर्न आग्रह गर्नुभयो। उहाँले आत्मविश्वासका साथ अघि बढ्दै उपलब्ध अवसरको सदुपयोग गर्न सके युवाहरूले स्वरोजगारका साथै अन्यका लागि समेत रोजगारी सिर्जना गर्न सक्ने बताउनुभयो।

    त्यसैगरी, बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले प्रत्येक व्यक्तिमा केही नयाँ गर्ने र सफलता हासिल गर्ने क्षमता रहेको उल्लेख गर्नुभयो। उहाँले युवाहरूलाई आफ्नै क्षमतामाथि विश्वास राख्दै आत्मविश्वास, लगनशीलता र दृढ संकल्पका साथ लक्ष्य प्राप्तिका लागि अघि बढ्न प्रेरित गर्नुभयो।

    पाँचदिने तालिमले युवाहरूलाई उद्यम स्थापना तथा सञ्चालनका लागि आवश्यक ज्ञान, व्यावहारिक सीप र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। तालिमबाट प्राप्त सिकाइलाई व्यावसायिक योजनामा रूपान्तरण गर्दै व्यवहारमा कार्यान्वयन गर्न सके युवाहरूका लागि स्वरोजगार र आयआर्जनका नयाँ अवसर सिर्जना हुने विश्वास गरिएको छ।

    युवा उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना र दिगो जीविकोपार्जनमार्फत आर्थिक रूपमा सशक्त तथा आत्मनिर्भर समाज निर्माण गर्ने उद्देश्यसहित तालिम सम्पन्न भएको आयोजकले जनाएको छ।

  • १३ मंसिर २०८३, शनिबार ०९:५१ प्रकाशित

  • Nabintech