सुर्खेत, १४ भदौं ।
हुम्लामा एक स्वास्थ्यकर्मीमाथी यौन दुर्व्यवहारमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको ताजाकोट गाउँपालिका–३, मैलास्थित स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढालाई प्रहरीले एक महिला स्वास्थ्यकर्मीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो ।
उनीहरुमाथी १० भदौंको रातमा एक स्वास्थ्य संस्थामा कार्यरत महिलालाई यौन दुर्व्यहार गरेको आरोप लागेको छ । हुम्लाको ताजाकोट गाउँपालिकामा स्वास्थ्य सम्बन्धि काम गर्दै आएकी ती महिलाको कोठामा गएर उनीहरुले अपशब्दसहित यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । उनीहरुले अपशब्दसहित यौन दुर्व्यहार गर्न खोजेपछि ती महिलाले आफु कार्यरत संस्थाको काठमाडौं कार्यालयमा जानकारी गराएकी थिइन ।
कार्यालयले जिल्ला प्रहरी कार्यालय हुम्लालाई फोन गरेर घटनाका बिषयमा जानकारी गराएपछि तिनै जना पक्राउ परेका हुन् । रातको करिब ११ बजेको समयमा महिला स्वास्थ्यकर्मीको कोठामा गई बन्धक बनाएर राखेको भन्ने सूचनाका आधारमा छप्रेला प्रहरी चौकीको टोलीले राती नै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार आरोपितहरुले मदिरा सेवन गरेको खुलेको छ । घटनाका बारेमा थप अनुसन्धान जारी रहेको उनले बताए ।











