बाँके,१९ भदौ।
बाँकेको बैजनाथ–४ मा रहेको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष ०८१/८२ मा नाफामा उल्लेखनीय प्रगति गरेको छ।
गत वर्ष ५ हजार २०५ रुपैयाँ मात्र खुद नाफा कमाएको सहकारीले यस वर्ष ६ लाख ३५ हजार ५९५ रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा १२२ प्रतिशत वृद्धि भएको सहकारीले जनाएको छ।
हाल सहकारीमा १ हजार ५४५ सदस्य रहेका छन्। उनीहरूबाट १ करोड १२ लाख ८ हजार रुपैयाँ बचत संकलन गरिएको छ भने शेयर पुँजी ४२ लाख ३१ हजार ९ सय रुपैयाँ पुगेको छ। सहकारीले यस अवधिमा २४ लाख रुपैयाँ बराबरका खसी–बोका खरिदबिक्री समेत गरेको अध्यक्ष कमला बुढाले जानकारी दिनुभयो।
अघिल्लो वर्षको तुलनामा सहकारीको सम्पूर्ण वित्तीय स्थिति उकासिएको छ। अघिल्लो वर्ष ऋण ९७ लाख रुपैयाँमा सीमित रहँदा यस वर्ष उठाउन बाँकी ऋण १ करोड ६१ लाख ६० हजार रुपैयाँ पुगेको छ। त्यस्तै, बचत ७३ लाखबाट बढेर १ करोड १२ लाख पुग्दा शेयर पुँजी २९ लाखबाट बढेर ४२ लाख पुगेको छ।
प्रबन्धक प्रमोद रिजालका अनुसार सहकारीले दैनिक बचत संकलनलाई निरुत्साहित गर्दै गाउँका ८२ वटा बाख्रापालन समूहमार्फत मासिक बैठक सञ्चालन गर्दै आएको छ। साथै, सहकारीले पछाडि पारिएका वर्ग, महिला, दलित र जनजातिलाई लक्षित गरी खसी–बोका व्यवसाय, आवश्यक ऋण तथा प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको छ।
आगामी योजनाका बारेमा प्रबन्धक रिजालले भन्नुभयो,“यस वर्ष ५ सय सदस्यलाई व्यवसायिक बनाउँदै २ करोड ६० लाख ऋण प्रवाह गर्ने र ११ लाख नाफा गर्ने लक्ष्य राखेका छौँ।”











