बाँके प्रहरीले ठूलो परिमाणमा बरामद अवैध पटका नष्ट गर्‍यो

  • नमस्ते कर्णाली

  • कार्तिक ६, २०८२

    बाँके । बाँके प्रहरीले भारतबाट लुकाईछिपाई ल्याइएको ठूलो परिमाणको अवैध विस्फोटक पदार्थ (पटका) नष्ट गरेको छ। भारतको रुपैडिया नाकाबाट नेपाल भित्र्याइएका प्रतिबन्धित पटाका जन्य वस्तु प्रहरीले मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा पानीको खाल्डोमा हालेर नष्ट गरेको हो।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार विभिन्न समयमा नियन्त्रणमा लिइएका पटाकाहरूलाई सुरक्षात्मक ढंगले नष्ट गरिएको हो।उहाँले भन्नुभयो “जमुनाह नाका हुँदै अवैध रूपमा ल्याइएका पटका प्रहरीले नियन्त्रणमा लिँदै आएको छ। ती सबै वस्तुहरू आज कार्यालय परिसरमै पानीको खाल्डोमा हालेर नष्ट गरियो।”

    प्रत्येक वर्ष तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा भारतबाट ठूलो मात्रामा पटका नेपाल भित्रिने गरेको छ। पटाका जन्य वस्तुले स्वास्थ्य, वातावरण र जनधनमा नोक्सान पुर्‍याउने भएकाले नेपालमा यस प्रकारका वस्तु आयात, बिक्री–वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध छ।

    डिएसपी पातलीले चाडपर्वको समयमा रमाइलोका नाममा आतसबाजी वा पटका प्रयोग गर्न नहुने भन्दै सचेत रहन सबैलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “कानुन विपरीतका यस्ता गतिविधिमा संलग्न हुनेहरूलाई प्रहरीले कारबाही गर्नेछ।”
    बाँके प्रहरीले तिहार लक्षित सुरक्षा अभियानलाई थप सशक्त बनाउँदै अवैध पटाका आयात, बिक्री तथा प्रयोग रोक्न विशेष निगरानी राखेको जनाएको छ।

     

  • ७ कार्तिक २०८२, बिहीबार १०:४६ प्रकाशित

  • Nabintech