२८, कार्तिक २०८२
बाँके । बाँके जिल्लामा पछिल्ला दिनहरूमा गहुँ बालीका लागि आवश्यक रासायनिक मल, विशेषगरी युरिया मलको अभाव गहिरिँदै गएको छ। समयमा मल नपाउँदा किसानहरूमा आक्रोश र निराशा दुवै बढेको देखिन्छ। गहुँ बाली रोप्ने समय चलिरहँदा युरिया अभावले किसानको कृषि योजना नै अस्तव्यस्त बनेको छ।

जिल्लाभरका सहकारी संस्था र मल वितरण केन्द्रहरूमा किसानहरूको भीड बढ्दो छ। नेपालगञ्ज, कोहलपुर, डुडुवा, र बैजनाथका सहकारी कार्यालयहरूमा हरेक दिन बिहानैदेखि लाइन लाग्ने किसान साँझसम्म रित्तो हात फर्किन बाध्य छन्। कतिपय किसानले बिहानदेखि बेलुकीसम्म पर्खंदा पनि मल नपाएको गुनासो गरेका छन्।
नेपालगञ्ज–१३ उदयपुरका किसान सुक्विन्दर सिंह भन्छन्, “पहिले धान रोप्दा पनि समयमा मल नपाएर राम्रो उत्पादन गर्न सकिएन। अहिले गहुँका लागि पनि युरिया भेटिन छाड्यो। सरकारले खेतीलाई प्रोत्साहन गर्छ भन्छ तर मल नहुँदा किसान कसरी उत्पादन बढाउँ?” उनले दुःख पोख्दै भने, “कागजमा मात्र कृषि प्रधान देश भनिन्छ, व्यवहारमा किसानलाई मल र बीउकै अभाव छ।”
युरिया नपाउँदा किसानहरू तनावमा छन् भने डिएपी मल भने केही मात्रामा उपलब्ध भएको सहकारी स्रोतले जनाएको छ। तर, युरिया नपाउँदा डिएपीको उपयोग पनि प्रभावकारी हुन सकेको छैन। किसानहरूका अनुसार, गहुँ बालीलाई युरिया अत्यावश्यक हुने भएकाले यसको कमीले उत्पादनमा सीधा असर पर्छ।
जिल्ला सहकारी सङ्घ बाँकेका प्रबन्धक सञ्चालक नवराज उपाध्यायले किसानको मागको तुलनामा स्टक कम हुँदा समस्या देखिएको स्वीकार गरेका छन् । उनका अनुसार, “किसानको माग अनुसार मल वितरण गर्न कठिनाइ भइरहेको छ। केन्द्रबाट पठाइएको मल पर्याप्त छैन। हामी वितरण प्रणाली व्यवस्थित गर्ने प्रयासमा छौं, तर आपूर्तिको कमीले समस्या बढाएको हो।”
तर, किसानहरू सहकारीहरूकै कामप्रति असन्तुष्ट देखिन्छन्। उनीहरूले बिहान १० बजे बोलाएर दिउँसो ४ बजे मात्रै वितरण सुरु गरेको, लाइनमा उभ्याएर मल सकिएको भन्दै फर्काएको आरोप लगाएका छन्। किसानहरू भन्छन्, “सहकारीहरू जिम्मेवार हुनुपर्ने ठाउँमा बेवास्ता गर्छन्, जसको मार हामी किसानले भोग्नुपरेको छ।”
बाँकेकै कोहलपुर–८ की किसान लक्ष्मी थारू भन्छिन्, “हामी बिहानैदेखि लाइनमा उभिन्छौं, तर बेलुकीसम्म मल पाउँदैनौं। कहिले भोलि आऊ भनेर फर्काउँछन्, कहिले ‘स्टक सकियो’ भन्छन्। यस्तो अवस्थामा खेती गर्न साह्रो भएको छ।” उनले थपिन्, “सरकारले हामीलाई समयमा मल पुर्याएन भने गहुँ बालीको उत्पादन घट्ने निश्चित छ।”
स्थानीय सहकारीहरूमा बुधबार अत्यधिक भिड बढेपछि बिहीबारका लागि वितरण स्थगित गरिएको थियो। तर, किसानहरूका अनुसार, बिहीबार पनि पर्याप्त मल नआएपछि कतिपयले नजिकका अन्य जिल्लामा गएर युरिया खोज्ने प्रयास गरेका छन्।
कृषि ज्ञान केन्द्र बाँकेका अधिकारीहरूका अनुसार, जिल्लामा यस वर्ष गहुँको उत्पादन लक्ष्य ३२ हजार हेक्टरमा तय गरिएको छ, तर युरियाको अभावले लक्ष्यमा असर पर्ने देखिएको छ।
विशेषज्ञहरू भन्छन्, कृषि उत्पादन बढाउन मल आपूर्ति प्रणालीलाई समयमै व्यवस्थित नगरे उत्पादनमा गिरावट आउँछ र त्यसको असर सिधा खाद्य सुरक्षा र किसानको आम्दानीमा पर्छ।
युरियाको अभाव समाधानका लागि सहकारीहरू र स्थानीय तहबीच समन्वय आवश्यक भएको विज्ञहरूको सुझाव छ। युरियाको अभावले बाँकेका किसानहरूका अनुहारमा निराशा झल्किएको छ, र उनीहरू तत्काल आपूर्ति व्यवस्थापन हुने अपेक्षामा छन्।










