जडीबुटी संकलन गर्न गएका  १२ जना सम्पर्कविहीन

  • नमस्ते कर्णाली

  • सुर्खेत, १३ असोज । 

    जडीबुटी संकलनका लागि उच्च हिमाली क्षेत्रमा गएका हुम्लाका १० र मुगुका दुई जना सम्पर्कविहीन भएका छन् । हिमपात र खराब मौसमका कारण स्थलमार्गबाट खोज तथा उद्धार गर्न कठिन भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट हेली रेस्क्यू गरिदिन जिल्ला सुरक्षा समितिले पत्र पठाएको छ । 

    सिमकोट गाउँपालिका २ ठेहेका धनमानसिंह बोहरा, पिजली बोहरा, पुन बोहरा, गोरसिंह भण्डारी, धनपुरी बोहरा, पलिवन बोहरा, जुन बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा सम्पर्कविहीन भएका हुन् । उनीहरू सिमकोट–१ को दोजाम हुँदै खार्पुनाथ गाउँपालिकाको त्रिशूली लुरुपे सामुदायिक वन र चंखेली गाउँपालिकाको सीमामा पर्ने उच्च हिमाली क्षेत्रमा जडीबुटी संकलनका लागि गएको प्रहरीको भनाई छ । 

    अविरल वर्षा र हिमपातका कारण स्थलमार्गबाट उनीहरूको खोजी तथा उद्धार गर्न असम्भव देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले हवाई उद्धारको पहल गर्ने निर्णय गरेको हो । समितिको निर्णयअनुसार नेपाली सेनाको हेलिकोप्टरबाट हेली रेस्क्यूको व्यवस्था गरिदिन सम्बन्धित निकायमा पत्र पठाइएको छ । 

    जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी शंकर भण्डारीका अनुसार सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य भइरहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेकाले खोजी कार्यमा जटिलता आएको उनले बताए । सम्पर्कविहीनमध्येका आफन्त रवामसिंह भण्डारीले पनि नेपाली सेनाको हेलिकोप्टरबाट हवाई उद्धार गरिदिन माग गर्दै सम्बन्धित निकायमा पत्र पठाएका छन् । 

    स्थलमार्गबाट तत्काल उद्धार गर्न कठिनाइ भएकाले हेलिकोप्टर परिचालन गरिदिन उनले अनुरोध गरेका हुन् । मुगुका दुई जना पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । उनीहरूको खोजीका लागि समेत पहल भइरहेको प्रहरीले जनाएको छ । 

     

  • १३ आश्विन २०८३, मंगलवार १७:२६ प्रकाशित

  • Nabintech