लुम्बिनी प्रदेश स्थापना दिवस : दिगो विकास र सुशासनमा जोड, संघीयताको उपलब्धि संरक्षण गर्न आह्वान

  • नमस्ते कर्णाली

  • २२, माघ २०८२
    दाङ। लुम्बिनी प्रदेशको नवौँ स्थापना दिवस बुधबार राप्ती उपत्यका (देउखुरी) मा औपचारिक समारोह आयोजना गरी विविध कार्यक्रमका साथ मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा सम्पन्न मूल समारोहमा प्रदेशका नीति, विकास र सुशासनका उपलब्धि तथा आगामी लक्ष्यबारे व्यापक चर्चा गरिएको थियो ।
    समारोहको उद्घाटन गर्दै लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास, समृद्धि र सुशासन सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । प्रदेशमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले प्रदेशलाई कस्तो बनाउने भन्ने कुरा नेतृत्व र शासन सञ्चालन गर्ने पक्षको दृष्टिकोण र कार्यशैलीमा निर्भर रहने धारणा राख्नुभयो ।


    उहाँले लुम्बिनी प्रदेश भौगोलिक, सांस्कृतिक र आर्थिक हिसाबले संवेदनशील तथा सम्भावनायुक्त प्रदेश भएको बताउँदै चुनौती र अवसरलाई सन्तुलित रूपमा व्यवस्थापन गर्न सके प्रदेशलाई नमुना प्रदेशका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । प्रदेशभित्र केही क्षेत्रमा समस्या देखिए पनि विभिन्न क्षेत्रमा प्रतिस्पर्धा र सम्भावना प्रशस्त रहेको उल्लेख गर्दै उहाँले सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।
    प्रदेश प्रमुख घर्तीमगरले प्रदेशको विकास गर्दा सबै तह र समुदायको आवाज सुन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । इतिहासका विभिन्न कालखण्डमा शासनकर्ताको निर्णयले नै विकासको दिशा निर्धारण गरेको स्मरण गर्दै उहाँले विकास योजनामा दीर्घकालीन सोच आवश्यक रहेको बताउनुभयो । विशेषगरी राजधानी क्षेत्र र प्रादेशिक संरचनाको विस्तार गर्दा उब्जाउ खेतीयोग्य जमिन जोगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । धान फल्ने फाँट संरक्षण गर्न सके खाद्य सुरक्षामा ठूलो योगदान पुग्ने र प्रदेशका नागरिकलाई भोकमरीको समस्या नआउने उहाँको भनाइ थियो ।


    कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएको आठ वर्ष पूरा हुँदै नवौँ वर्षमा प्रवेश गर्दा संघीय व्यवस्थालाई बलियो बनाउने दिशामा प्रदेशले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । संघीय शासन प्रणालीका कारण विकासका गतिविधि गाउँ–टोलसम्म पुगेको र नागरिकले त्यसको प्रत्यक्ष अनुभूति गर्न थालेको उहाँले उल्लेख गर्नुभयो ।
    प्रदेशको औचित्यमाथि प्रश्न उठाउने प्रवृत्तिप्रति संकेत गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश बोझिलो संरचना नभई विकास निर्माणको आधारस्तम्भ बनेको स्पष्ट पार्नुभयो । प्रदेशले गरेका विकास कार्य र बजेट खर्चको यथार्थ मूल्यांकन गर्न आग्रह गर्दै उहाँले गलत भाष्य निर्माण गर्ने काम नगर्न सबैलाई अनुरोध गर्नुभयो । उहाँका अनुसार प्रदेश सरकारको पहलमा विभिन्न पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा उल्लेखनीय काम भएका छन् ।
    मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर पाँच वर्षे रणनीतिक योजना लागू गरेको जानकारी दिनुभयो । प्रदेश सरकारले सुशासन प्रवर्द्धनका लागि कानुनी तथा संस्थागत संरचना तयार पारेर कार्यान्वयनमा ल्याइसकेको उहाँले बताउनुभयो । सरकारी कामकारबाहीलाई प्रभावकारी र जनमुखी बनाउन प्रशासनिक सुधारका कार्यक्रमहरू पनि सञ्चालन गरिएको उहाँको भनाइ थियो ।
    कार्यक्रममा प्रदेश सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभा र प्रदेश सरकारले नागरिकका आधारभूत आवश्यकतासँग सम्बन्धित क्षेत्रमा प्रभावकारी कानुन निर्माण तथा कार्यान्वयनलाई प्राथमिकता दिएको बताउनुभयो । प्रदेश स्थापना भएदेखि हालसम्म विभिन्न ऐन, नियम र नीतिहरू निर्माण गरेर प्रदेशलाई व्यवस्थित शासन प्रणालीतर्फ अघि बढाउन सफल भएको उहाँले उल्लेख गर्नुभयो ।
    उहाँले कानुन निर्माणको क्षेत्रमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रस्थानमा रहेको दाबी गर्नुभयो । आगामी दिनमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने र जीवनस्तर सुधारमा योगदान पुग्ने कानुन निर्माणलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
    समारोहमा बोल्दै पूर्व मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशको दीर्घकालीन विकासका लागि सुशासन अपरिहार्य रहेको बताउनुभयो । समृद्ध र आत्मनिर्भर प्रदेश निर्माण गर्न कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । प्रदेशको समृद्धि यात्रालाई तीव्रता दिन दक्ष जनशक्ति विकास, रोजगारी सिर्जना तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षता तथा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सभाले आयोजना गरेको खुला वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । प्रतियोगितामा बर्दियाको गलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयकी पूर्णिमा ओली प्रथम हुनुभएको थियो । त्यसैगरी घोराहीस्थित माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुलकी सलिना पौडेल दोस्रो र सोही विद्यालयका सिद्धान्त अधिकारी तृतीय हुनुभएको थियो ।
    कार्यक्रम प्रमुख सचिव कृष्णप्रसाद काप्रीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, सरकारी अधिकारी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रदेश सभाका उपसचिव लोकमणि पाण्डेले गर्नुभएको थियो ।
    लुम्बिनी प्रदेश स्थापना दिवसलाई अवसरका रूपमा लिँदै प्रदेश सरकार र सरोकारवाला निकायहरूले संघीय व्यवस्थाको प्रभावकारिता, सुशासन प्रवर्द्धन तथा विकास निर्माणका कार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश स्थापना भएको करिब एक दशक पुग्न लाग्दा प्राप्त उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी योजना र कार्यक्रममार्फत प्रदेशलाई समृद्ध, आत्मनिर्भर र नागरिकमैत्री बनाउने लक्ष्य लिइएको छ ।

  • २३ माघ २०८२, बिहीबार १७:२५ प्रकाशित

  • Nabintech