२४, माघ २०८२
बर्दिया ।वन्यजन्तुको आक्रमणबाट एकैदिन जिल्लामा दुई जनाको ज्यान गएपछि आक्रोशित स्थानीयले शुक्रबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, चितुवाबाट हुने जोखिम नियन्त्रण गर्नुपर्ने तथा स्थानीय बासिन्दाको ज्यान–धनको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको हो।
बिहीबार चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ का नन्दु रोकाय र मधुवन नगरपालिका–९ की मैसरा डाँगीको मृत्यु भएको थियो। लगातार वन्यजन्तुको आक्रमण बढ्दै गएपछि स्थानीयमा त्रास फैलिएको र सुरक्षाका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग उठेको छ।
प्रदर्शनका क्रममा स्थानीय बासिन्दा जिल्ला प्रशासन कार्यालयको मूलगेटभित्र प्रवेश गरी नाराबाजीसमेत गरेका थिए। उनीहरूले पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, जोखिमयुक्त क्षेत्रमा वन्यजन्तु नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न र चितुवा नियन्त्रणका लागि तत्काल पहल गर्न प्रशासनसँग माग गरेका छन्।
स्थानीयले वन क्षेत्र आसपासका बस्तीहरूमा वन्यजन्तुको आवागमन बढ्दै गएको भन्दै सुरक्षाका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार पछिल्लो समय चितुवा गाउँबस्तीमा प्रवेश गर्ने घटना बढ्दो क्रममा रहेको छ।
जिल्ला प्रशासन कार्यालयले भने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि आवश्यक पहल गरिने र पीडित परिवारलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइने जनाएको छ। साथै वन्यजन्तुबाट हुने जोखिम न्यूनीकरणका उपाय अपनाइने प्रशासनको भनाइ छ।











