२५, माघ २०८२
जाजरकोट । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनयता कर्णाली क्षेत्रबाट तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट अवसर पाएका प्रमुख नेतामध्ये जाजरकोटका शक्तिबहादुर बस्नेतलाई आगामी प्रतिनिधिसभा निर्वाचन सहज नहुने देखिएको छ। विगतका दुई निर्वाचन गठबन्धनको बलमा जित्दै आएका बस्नेत यसपटक भने एक्लै प्रतिस्पर्धामा उत्रनुपर्ने अवस्था बनेको छ।
माओवादीको १० वर्षे सशस्त्र जनयुद्धको प्रारम्भिक चरणदेखि भूमिगत राजनीतिक यात्रामा रहेका बस्नेतले पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए। युद्धकालमा उनी जनमुक्ति सेनाको डिभिजन कमिसारसमेत थिए। २०६२/०६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ मा पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो। सो निर्वाचनमा माओवादीका कालिबहादुर मल्ल विजयी भए। पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि २०७० मा दोस्रो संविधानसभा निर्वाचन भयो र यही निर्वाचनबाट बस्नेत संसदीय राजनीतिमा प्रवेश गरेका थिए।
बस्नेतले २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचनमा फरक–फरक गठबन्धनको सहारामा लगातार जित निकाले। २०७४ मा नेकपा एमालेसँगको गठबन्धनबाट विजयी भएका बस्नेत २०७९ मा कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनबाट पुनः निर्वाचित भएका थिए। तर, २१ फागुनमा हुने निर्वाचनमा प्रमुख दलहरू अलग–अलग प्रतिस्पर्धामा उत्रिँदा बस्नेतलाई चुनौती थपिएको छ।
विकासको सवालमा आलोचना
जाजरकोटसँग सीमाना जोडिएको रुकुम पश्चिममा माओवादी नेता जनार्दन शर्माले विकासका उल्लेखनीय काम गरेको चर्चा भइरहँदा बस्नेतमाथि भने जिल्लामा अपेक्षित विकास गर्न नसकेको आरोप लाग्दै आएको छ। बस्नेत पटक–पटक मन्त्री भए पनि जाजरकोटमा विद्युत् विस्तार, मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पश्चिम–जाजरकोट जोड्ने भेरी नदीको पुल तथा मन्ता भीर सडक खण्ड निर्माणलाई पूर्णता दिन नसकेको आलोचना हुने गरेको छ।
बस्नेत स्वास्थ्य तथा जनसंख्या, गृह, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। सांसद निर्वाचित हुनुअघि उनी प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत थिए।
जनसंख्या आधारमा बस्नेतको बल
जाजरकोटमा नेपाली कांग्रेस र एमाले संगठनात्मक रूपमा बलिया मानिन्छन्। यद्यपि बस्नेत भेरी नगरपालिकाका स्थायी बासिन्दा हुन्, जहाँसहित नलगाड र छेडागाड नगरपालिका जिल्लाका बढी जनसंख्या भएका स्थानीय तह हुन्। यी तीन स्थानीय तहबाट राम्रो मत ल्याउन सके बस्नेतको जितको सम्भावना बलियो रहने विश्लेषण भइरहेको छ।
बस्नेतले प्रचार अभियानका क्रममा सामाजिक सञ्जालमा देखाइएजस्तो नयाँ दलको लहर नरहेको दाबी गर्दै आफूले अघिल्ला निर्वाचनमा प्राप्त जनमतको सम्मान गर्दै जाजरकोटको विकासका लागि महत्वपूर्ण काम गरेको बताएका छन्। बाँकी अधुरा योजना पूरा गर्न पुनः निर्वाचनमा होमिएको उनको भनाइ छ।
दलगत शक्ति सन्तुलन
२०७४ को निर्वाचनमा माओवादी–एमाले गठबन्धन हुँदा बस्नेतले ३२ हजार २८१ मत प्राप्त गरी विजयी भएका थिए भने कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत प्राप्त गरेका थिए। समानुपातिकतर्फ भने कांग्रेसले २० हजार ४८६ मत ल्याउँदै संगठनात्मक रूपमा पहिलो देखिएको थियो। एमालेले १७ हजार ६७१ र माओवादीले १३ हजार ५७१ मत पाएका थिए।
२०७९ को निर्वाचनमा बस्नेतले ३४ हजार १५१ मत प्राप्त गर्दा एमालेका निरजप्रसाद आचार्यले २५ हजार १२० मत पाएका थिए। सो निर्वाचनमा गठबन्धनको समर्थन बस्नेतलाई निर्णायक बनेको थियो।
समानुपातिक मततर्फ २०७९ मा कांग्रेस २२ हजार ९३४ मतसहित पहिलो स्थानमा रह्यो भने एमालेले १९ हजार ७४९ मत प्राप्त गर्यो। माओवादीले १४ हजार ४१२ मत प्राप्त गरेको थियो। माओवादीसँग मिसिएको समाजवादीको मत ७८६ मात्र रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मत संख्या ५९४ रहेको देखिन्छ।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको मत विश्लेषण गर्दा एमाले २४ हजार ४ मतसहित पहिलो, कांग्रेस २२ हजार ३४२ मतसहित दोस्रो र माओवादी १८ हजार ६२२ मतसहित तेस्रो स्थानमा देखिएको थियो।
नयाँ दल र आन्तरिक कलहको प्रभाव
यसपटक दलहरू गठबन्धन बिना चुनावमा जाँदा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुने देखिएको छ। कांग्रेसको आन्तरिक विवाद र एमालेभित्र देखिएको मनमुटावले मत विभाजन भए बस्नेतलाई फाइदा पुग्न सक्ने आँकलन पनि गरिएको छ। यद्यपि संगठनात्मक मत कमजोर भएकाले बस्नेतको जित सहज नहुने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
११ उम्मेदवार चुनावी मैदानमा
जाजरकोट प्रतिनिधिसभा निर्वाचनमा नेकपाबाट शक्तिबहादुर बस्नेत, एमालेबाट डम्बरबहादुर सिंह र कांग्रेसबाट खड्गबहादुर बुढासहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। अन्य उम्मेदवारमा रास्वपाबाट राघव कार्की, राप्रपाबाट कृष्णविक्रम शाह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट भेषबहादुर ओली, उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर नेपाली, मंगोल नेशनल अर्गनाइजेशनबाट कमान बुढा मगर, नेकपा माओवादीबाट बमबहादुर मल्ल, राष्ट्रिय जनमोर्चाबाट रत्नबहादुर खड्का र नेपाल मजदुर किसान पार्टीबाट धनीराम जैशी रहेका छन्।
आसन्न निर्वाचनमा गठबन्धन विहीन प्रतिस्पर्धा, संगठनात्मक शक्ति र स्थानीय समीकरणले जाजरकोटको चुनावी परिणाम निर्धारण गर्ने देखिएको छ।











