अख्तियार सम्पर्क कार्यालय नेपालगन्जद्वारा ९७३ उजुरी फर्छ्यौट, स्थानीय तहसम्बन्धी उजुरी बढी

  • नमस्ते कर्णाली

  • १, फाल्गुन २०८२
    बाँके ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगन्जले पछिल्ला दुई आर्थिक वर्षमा कुल ९७३ वटा उजुरी फर्छ्यौट गरेको जनाएको छ। आर्थिक वर्ष २०८१/०८२ मा ७८८ तथा चालु आर्थिक वर्षमा हालसम्म १८५ वटा उजुरी फर्छ्यौट गरिएको कार्यालयले जानकारी दिएको छ।
    आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बिहीबार सम्पर्क कार्यालय नेपालगन्जमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख झरेन्द्र प्रसाद चापागाईँले उक्त तथ्याङ्क सार्वजनिक गर्नुभयो। उहाँका अनुसार गत आर्थिक वर्षमा ९०२ वटा उजुरी दर्ता भएका थिए भने चालु आर्थिक वर्षमा हालसम्म ४७१ वटा उजुरी दर्ता भइसकेका छन्।
    कार्यालय प्रमुख चापागाईँले नेपालगन्ज सम्पर्क कार्यालयको कार्यक्षेत्र दाङ, बाँके, बर्दिया र रोल्पा जिल्ला रहेको जानकारी दिँदै ती जिल्लामध्ये स्थानीय तहसँग सम्बन्धित उजुरीको संख्या सबैभन्दा बढी रहेको बताउनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी उजुरी बर्दियाको बढैयाताल गाउँपालिकाबाट परेको छ। उक्त गाउँपालिकासम्बन्धी मात्रै २५ वटा उजुरी दर्ता भएका छन्।
    कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले भ्रष्टाचार नियन्त्रणका लागि सबै निकाय तथा नागरिक जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो। यस्तै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सुशासन प्रवर्द्धनमा अख्तियारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
    कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन सबै पक्षले इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले भ्रष्टाचारविरुद्ध सञ्चारमाध्यमले खबरदारी र सचेतनामूलक भूमिका निर्वाह गरिरहेको बताउनुभयो।
    नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले २०४७ साल माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र संवैधानिक निकायका रूपमा स्थापना गरिएको हो। स्थापना कालदेखि नै आयोगले सार्वजनिक निकायमा हुने अनियमितता तथा भ्रष्टाचार नियन्त्रणका लागि अनुसन्धान, कारबाही र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
    स्थापना दिवसको अवसरमा उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीलाई सम्मान समेत गरिएको छ। २० हजार रुपैयाँ राशिको ‘अख्तियार अनुसन्धान सेवा पुरस्कार’ इन्जिनियर हेमबहादुर सिंजालीलाई प्रदान गरिएको छ भने १० हजार रुपैयाँ राशिको ‘अख्तियार सेवा पुरस्कार’ रञ्जित अधिकारीलाई प्रदान गरिएको छ।
    यसै अवसरमा कार्यालयले कर्मचारीबीच खेलकुद प्रतियोगिता समेत आयोजना गरेको थियो। क्रिकेट, टेबल टेनिस र ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कर्मचारीलाई पुरस्कार वितरण गरिएको कार्यालयले जनाएको छ।

  • १ फाल्गुन २०८२, शुक्रबार १६:१७ प्रकाशित

  • Nabintech