बर्दिया,१७ असार ।
बर्दिया जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ११ महिनाको अवधिमा ५ सय ४४ वटा सवारी दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको छ। सोही अवधिमा ९ सय ८ जना घाइते भएका छन्, जसमा ४ सय ५२ जना गम्भीर र ४ सय ५६ जना सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेका अनुसार अधिकांश दुर्घटना तीव्र गति, ट्राफिक नियमको उल्लङ्घन, मादक पदार्थ सेवन (मापसे), लागुऔषध सेवन (लापसे) तथा चालकको लापरवाहीका कारण भएका छन्।
तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा ४ सय ८२ वटा सवारी दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो। उक्त अवधिमा ७५ जना गम्भीर र ६ सय ८३ जना सामान्य गरी कुल ७ सय ५८ जना घाइते भएका थिए। यस वर्ष दुर्घटना, मृत्यु तथा घाइते हुनेको सङ्ख्या बढेको देखिएको छ।
ट्राफिक प्रहरीका अनुसार अधिकांश दुर्घटना हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्डमा भएका छन्। चार लेन सडक निर्माण भएपछि सवारी साधन तीव्र गतिमा सञ्चालन हुन थालेकाले दुर्घटनाको जोखिम बढेको प्रहरीको निष्कर्ष छ। महेन्द्र राजमार्ग र जिल्लाका भित्री सडकमा पनि उल्लेख्य सङ्ख्यामा दुर्घटना हुने गरेको जनाएको छ।
प्रहरी निरीक्षक बेलबासेले ट्राफिक नियम पालना नगर्ने, चालक अनुमति पत्र (लाइसेन्स) बिना सवारी चलाउने, मापसे तथा लापसे गरेर सवारी चलाउने, ओभरलोड र तीव्र गतिमा सवारी सञ्चालन गर्ने चालकहरू कारबाहीमा परेको बताउनुभयो। उहाँका अनुसार कारबाहीमा पर्ने सवारी साधनमध्ये यात्रुवाहक सवारी र मोटरसाइकलको सङ्ख्या बढी छ।
ट्राफिक प्रहरीका अनुसार सडक छेउमा चौपाया चराउने, सडक अतिक्रमण गर्ने, पैदल यात्रुले ट्राफिक नियमको पालना नगर्ने, सडक संरचनाका कमजोरी, असुरक्षित सार्वजनिक सवारी, चालकको अयोग्यता, लापरवाही तथा ट्राफिक नियमप्रतिको अज्ञानता र बेवास्ताले पनि दुर्घटना बढाउन भूमिका खेलेका छन्।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन, चालक तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि र सुरक्षित सडक पूर्वाधार निर्माणमा सम्बन्धित निकायले थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।









