तोकिएकै समयभित्र राजस्व सङ्कलन चुनौती 

  • नमस्ते कर्णाली

  • बाँके, १७ असार । 

    लक्ष्य पूरा गर्नका लागि चालु आर्थिक वर्षको एक महिनामा रु पाँच अर्ब ९६ करोड ५८ लाख २६ हजार राजस्व सङ्कलन गर्न चुनौती रहेको छ ।  नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु १८ अर्ब ५७ करोड ९९ लाख ५६ हजार  राजस्व सङ्कलन गरे पनि बाँकी एक महिनामा उक्त लक्ष्य पूरा गर्न चुनौती रहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । 

    चालु आर्थिक वर्ष (आव) २०८२/०८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएको छ । भन्सार कार्यालयको मासिक लक्ष्यअनुसार हालसम्म कुनै पनि महिनामा राजस्व सङ्कलन हुन सकेको छैन । 

    चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघ महिनामा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशत  राजस्व असुली भएको छ । त्यसैगरी चालु आवको फागुन, चैत, वैशाख र जेठमा क्रमशः लक्ष्यको ८८, ९८, ८५ र ८० प्रतिशत राजस्व जम्मा भएको छ । गत आव २०८१/०८२ मा नेपालगञ्ज भन्सारले लक्ष्यको ७४ दशमलव ६४ प्रतिशत राजस्व जम्मा भएको थियो ।  आव २०८०/०८१ मा ६३ दशमलव ३५ प्रतिशत राजस्व उठेको थियो । 

    नेपाल–भारत सीमाको जमुनाहनाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख पौडेलले बताए ।

  • १७ असार २०८३, बुधबार ११:२५ प्रकाशित

  • Nabintech