सुर्खेत–२ मा नयाँ समीकरण: थानी–कँडेल युगपछि बहुदलीय कडा प्रतिस्पर्धा

  • नमस्ते कर्णाली

  • ४, फाल्गुन २०८२

    कर्णाली ।कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत क्षेत्र नम्बर २ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन नयाँ अनुहार र नयाँ समीकरणबीच हुने भएको छ। संघीयता अघिसम्म यहाँ हृदयराम थानी र यामलाल कँडेल बीच मुख्य प्रतिस्पर्धा हुने परम्परा जस्तै बनेको थियो। दुवै नेताले २०५१ सालदेखि पालैपालो जित–हार बेहोर्दै सुर्खेत–२ को राजनीति केन्द्रमा राखेका थिए।

    २०५१ सालको प्रतिनिधिसभा तथा २०६४ सालको संविधानसभा निर्वाचनमा कँडेल विजयी बने भने २०५६ सालको प्रतिनिधिसभा र २०७० सालको संविधानसभा निर्वाचनमा थानीले बाजी मारेका थिए। तर २०७४ सालमा मुलुक संघीय संरचनामा गएपछि कँडेल प्रदेशसभातर्फ केन्द्रित भए र हाल उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सचिवका साथै कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत छन्। थानी भने प्रतिनिधिसभामै सक्रिय रहे।
    संघीय पुनर्संरचनापछि साविकको सुर्खेत क्षेत्र नम्बर ३ समेत गाभिएर हालको क्षेत्र नम्बर २ बनेको हो। वीरेन्द्रनगर नगरपालिकाका १४ वडा (१५ र १६ बाहेक), बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका यस क्षेत्रमा समेटिएका छन्। वीरेन्द्रनगरका मतदाता नै यहाँ निर्णायक मानिन्छन्।

    थानी विश्राममा, नयाँ नेतृत्व अगाडि

    २०५१ यताका सबै निर्वाचनमा प्रतिस्पर्धा गरेका थानीले यसपटक स्वास्थ्य कारण देखाउँदै चुनाव नलड्ने घोषणा गरेका छन्। उनको अनुपस्थितिमा कांग्रेसबाट नारायण कोइराला उम्मेदवार बनेका छन्। कोइराला रेडियो भेरीका अध्यक्ष तथा सुर्खेत उपत्यका विकास समितिका पूर्व अध्यक्ष हुन्। लामो समय थानीको कोर टिममा रहेर काम गरेका कारण उनी थानीका उत्तराधिकारीका रूपमा हेरिएका छन्।
    एमालेबाट कुलमणि देवकोटा मैदानमा छन्। उनी पार्टीका जिल्ला अध्यक्ष तथा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा नेतृत्वदायी भूमिकामा परिचित छन्।
    चार दलबीच मुख्य भिडन्त
    यस क्षेत्रमा कुल १७ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच हुने आकलन गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट झकबहादुर मल्ल (सुदीप) उम्मेदवार छन्। उनी सशस्त्र द्वन्द्वकालदेखि माओवादी आन्दोलनमा सक्रिय नेता हुन्।
    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी बाट रमेश सापकोटा उम्मेदवार छन्। उनी काँक्रेविहार यातायात प्रालिका अध्यक्ष तथा पूर्व कांग्रेस नगर सचिव हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी बाट कविराम पुरी उम्मेदवार बनेका छन्।

    विगतको मतपरिणाम र वर्तमान रणनीति

    २०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट थानीले एमालेका अमृतबहादुर बुढाक्षेत्रीलाई करिब पाँच हजार मतान्तरले पराजित गरेका थिए। थानीले ३४,६२५ मत प्राप्त गर्दा एमाले उम्मेदवारले २९,५५८ मत पाएका थिए। सोही निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ ४,६०१ मत पाएको थियो।
    समानुपातिकतर्फ भने एमाले २५,०८६ मतसहित पहिलो, कांग्रेस २३,०१० मतसहित दोस्रो र माओवादी केन्द्र १०,०५९ मतसहित तेस्रो स्थानमा थिए। रास्वपाले ६,१४६ तथा राप्रपाले ३,९७५ मत प्राप्त गरेका थिए। यही आधारमा रास्वपाले सुर्खेत–२ लाई सम्भावनायुक्त क्षेत्रका रूपमा लिएको छ।

    कसको रणनीति बलियो?

    कांग्रेस युवा नेतृत्व, आन्तरिक एकता र संगठन बलमा जित निकाल्ने दाउमा छ। एमाले भने प्रदेश सरकारको नेतृत्व, संगठनको मजबुती र परम्परागत मत जोगाउने रणनीतिमा छ। रास्वपाले पुराना दलप्रति देखिएको असन्तुष्टिलाई आधार बनाउँदै मत तान्ने प्रयास गरिरहेको छ। नेकपाले आफ्नो वैचारिक आधार र स्थायी मतदातामा भरोसा राखेको छ।
    यस क्षेत्रमा करिब ७२ हजार मतदाता रहेका छन्। वीरेन्द्रनगरबाट सर्वाधिक मत ल्याई पश्चिम क्षेत्रका पालिकाबाट सन्तोषजनक समर्थन जुटाउन सक्ने उम्मेदवार नै अन्ततः प्रतिनिधिसभा सदस्य बन्ने सम्भावना बलियो देखिन्छ। थानी–कँडेल युगपछि सुर्खेत–२ को राजनीति नयाँ अध्यायतर्फ मोडिएको छ, जहाँ मतदाताको निर्णयले आगामी राजनीतिक दिशानिर्देश तय गर्नेछ।

  • ४ फाल्गुन २०८२, सोमबार ०७:३६ प्रकाशित

  • Nabintech