८, फाल्गुन २०८२
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो पाँच वर्षे चुनावी वाचा पत्र सार्वजनिक गरेको छ। बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित ‘परिवर्तन उद्घोष सभा’का क्रममा पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री डोलप्रसाद अर्याल तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा वाचा पत्र सार्वजनिक गरेका हुन्।
सुदूरपश्चिमबाट सुरु गरिएको चुनावी अभियानको दोस्रो दिन कर्णालीमै वाचा पत्र सार्वजनिक गरिनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। २०७९ मा सञ्चार क्षेत्र छोडेर राजनीति थालेका सभापति लामिछानेले कर्णालीलाई सम्बोधन गर्दै पुराना दलप्रति संकेतात्मक आलोचना गरे। उनले कुनै दलको नाम नलिई लोकतन्त्र जोगाउने संघर्षमा रास्वपा एक्लै उभिएको दाबी गरे।
“रोडबाट होइन, भोटबाट परिवर्तन गरौँ”
सभालाई सम्बोधन गर्दै लामिछानेले कर्णालीमा रोग, भोग, गरिबी र अशिक्षा व्याप्त हुनुको प्रमुख कारण विगतका सत्ताधारी दलहरूको असफलता भएको बताए। “लोकतन्त्र जोगाउने ठेक्का कुनै नेता वा पार्टीले लिनु पर्दैन, जनता जागेपछि लोकतन्त्र आफैं बलियो हुन्छ,” उनले भने। परिवर्तनका लागि शान्तिपूर्ण र लोकतान्त्रिक बाटो रोज्नुपर्नेमा जोड दिँदै उनले आह्वान गरे, “रोडबाट होइन, भोटबाट परिवर्तन गरौँ। कर्णालीले हिंसात्मक द्वन्द्वको पीडा धेरै भोगिसकेको छ।”
आगामी २१ फागुनको निर्वाचनलाई देशको भविष्य निर्धारण गर्ने अवसरका रूपमा चित्रण गर्दै उनले स्पष्ट जनादेशसहित पाँच वर्ष टिक्ने स्थिर सरकार आवश्यक रहेको बताए। “निर्वाचन केवल मतदानको दिन होइन, देशको दिशा तय गर्ने दिन हो,” उनले भने, “अब उत्तर होइन, समाधान दिने समय आएको छ।”
कर्णालीबाटै किन सार्वजनिक ?
रास्वपाले वाचा पत्र सार्वजनिक गर्न कर्णाली रोज्नुको कारणबारे चासो बढेको छ। वाचा पत्रको पहिलो बुँदामै राज्य संरचना र नीतिका कारण पुस्तौंदेखि अन्याय र बहिष्करणमा परेका समुदायसँग औपचारिक क्षमायाचना गर्ने उल्लेख छ। ऐतिहासिक रूपमा उपेक्षित क्षेत्रका रूपमा चिनिएको कर्णालीबाट नयाँ राजनीतिक थिति बसाल्ने सङ्कल्प गर्नु प्रतीकात्मक र रणनीतिक दुवै रूपमा अर्थपूर्ण मानिएको छ।
गत निर्वाचनमा रास्वपाले कर्णालीबाट अपेक्षित मत नपाएको सन्दर्भमा यसपटक सांगठनिक उपस्थिति सुदृढ पार्ने उद्देश्यले कर्णालीलाई प्राथमिकतामा राखिएको विश्लेषण गरिएको छ। विशेषतः सुर्खेत–२ क्षेत्रमा जितको सम्भावना देखेर रणनीति बनाइएको आकलन राजनीतिक वृत्तमा गरिएको छ।
“कर्णालीको गहिराइ बुझ्ने पार्टी रास्वपा”
वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई उजागर गर्दै यहाँको वास्तविकता बुझ्ने नेतृत्वको अभाव रहेको टिप्पणी गरे। “देशकै सबैभन्दा ठूलो रारा ताल, सबैभन्दा लामो कर्णाली नदी र विशाल भूगोल भएको कर्णालीको गहिराइ आजसम्म सही रूपमा बुझिएन,” उनले भने, “त्यो गहिराइ बुझ्ने पार्टी रास्वपा हो।”
उनले डोल्पाको यार्सागुम्बा विश्व बजारसम्म पुग्ने तर कर्णालीका कृषि उत्पादन राष्ट्रिय बजारमा सहजै नपुग्नु विडम्बना भएको बताए। सिँजा सभ्यताको संरक्षण, भाषा–संस्कृति जगेर्ना र उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राखिने उनले स्पष्ट पारे।
वाचा पत्रका मुख्य बुँदा
*‘थिति बसाल्ने सङ्कल्प’ नाम दिइएको वाचा पत्रमा नीतिगत रूपान्तरणका एक सय आधार प्रस्तुत गरिएको छ। सुशासन, आर्थिक सुधार र डिजिटल क्रान्ति मुख्य प्राथमिकतामा छन्।
२०४६ सालयता सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने।
*राज्य निकायमा दलीय भ्रातृ संगठन र ट्रेड युनियन अन्त्य गर्ने
पार्टी प्रमुख दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था
सरकारी सेवा पूर्ण रूपमा अनलाइनमार्फत प्रवाह गर्ने।
*१० वर्षभित्र सूचना प्रविधि निर्यात ३० अर्ब डलर पुर्याउने लक्ष्य
सातै प्रदेशमा डिजिटल पार्क स्थापना गरी पाँच लाख रोजगारी सिर्जना गर्ने
*पाँच वर्षभित्र ७ प्रतिशत आर्थिक वृद्धि र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्ने लक्ष्य
*सहकारी र लघुवित्त समस्याका समाधानका लागि एकीकृत बचत सुरक्षा कोष स्थापना गरी साना बचतकर्ताको रकम एक सय दिनभित्र फिर्ता गर्ने प्रतिबद्धता पनि वाचा पत्रमा उल्लेख छ। साथै प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री नहुने व्यवस्थाबारे राष्ट्रिय बहस अघि बढाइने जनाइएको छ।
रास्वपाले नेपाललाई सम्मानजनक मध्यम–आय भएको मुलुक बनाउन आधार तयार गर्ने दाबी गरेको छ। कर्णालीबाट सुरु गरिएको यो राजनीतिक सन्देशले निर्वाचन परिणाममा कस्तो प्रभाव पार्छ भन्ने विषय भने मतपेटिकाले नै तय गर्नेछ।










