१४, फाल्गुन २०८२
बाँके ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग सीमा जोडिएको बाँके जिल्ला मा फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सम्पूर्ण सीमा नाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयले निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको हो। खुला सीमा भएका कारण निर्वाचनका बेला हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सीमा आवागमन अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो।
त्यसैगरी, फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अत्यावश्यक सेवाबाहेक सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने छ। प्रशासनका अनुसार एम्बुलेन्स, दमकल, दूरसञ्चार सेवा, शववाहन, विद्युत् सेवा सम्बन्धी सवारीसाधन तथा निर्वाचन आयोग बाट सिफारिस प्राप्त कूटनीतिक नियोगका सवारीसाधन र आधिकारिक अनुमति प्राप्त गाडी मात्र सञ्चालनमा रहनेछन्। यस व्यवस्थाले मतदानका दिन अनावश्यक भीडभाड तथा सम्भावित अव्यवस्था रोक्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
निर्वाचन प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रवेश र आवागमनलाई समेत कडाइका साथ नियन्त्रित गरिने प्रशासनले जनाएको छ। यसका लागि भारतीय सुरक्षा निकायसँग आवश्यक समन्वय र सहयोग माग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बताउनुभयो। खुला सीमाको दुरुपयोग हुन नदिन दुवै देशका सुरक्षा संयन्त्रबीच सूचना आदान–प्रदान र संयुक्त अनुगमनलाई प्राथमिकता दिइएको छ।
सुरक्षा तथा प्रशासनिक निकायको संयुक्त बैठकले सीमा क्षेत्रमा संयुक्त गस्तीलाई थप सुदृढ गर्ने निर्णय गरेको छ। अवैध प्रवेश, लागुऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, हातहतियार तथा अवैध नगद तस्करीजस्ता गतिविधि नियन्त्रण गर्न विशेष निगरानी बढाइएको प्रशासनले जनाएको छ। निर्वाचन अवधिमा यस्ता गतिविधि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा रणनीति कडाइका साथ कार्यान्वयन गरिने बताइएको छ।
प्रशासनले निर्वाचन सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन गरिसकेको जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायलाई संवेदनशील क्षेत्रहरूमा परिचालन गरिनुका साथै मुख्य सीमा नाका तथा सहायक मार्गहरूमा समेत निगरानी बढाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार प्रशासन शान्तिपूर्ण, मर्यादित तथा व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको छ। “निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधार हो। यसलाई निष्पक्ष र भयमुक्त बनाउन हामीले आवश्यक सबै तयारी पूरा गरेका छौँ,” उहाँले भन्नुभयो।
प्रशासनले आम नागरिकलाई अफवाहमा नलाग्न, सुरक्षाकर्मीलाई सहयोग गर्न तथा तोकिएका निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ। सीमा बन्द र सवारीसाधन नियन्त्रणको निर्णय अस्थायी भएको उल्लेख गर्दै निर्वाचन सम्पन्न भएपछि अवस्था सामान्य बनाइने पनि प्रशासनले स्पष्ट पारेको छ।










