१४, फाल्गुन २०८२
बाँके ।बाँके निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कमरुद्दिन राईले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ धम्बोझी–खजुरा रोड क्षेत्रमा आज गरिएको घरदैलो कार्यक्रमका क्रममा राईले स्थानीयका गुनासा र सुझाव प्रत्यक्ष रूपमा सुनेका छन्।
घरदैलोका क्रममा राई मतदाताको घर–घर पुग्दा स्थानीयबासीले उत्साहपूर्ण स्वागत गरेका थिए। कतिपयले खादा ओढाएर सम्मान गरे भने कतिपयले आफ्ना दैनिक समस्या खुलस्त रूपमा राखेका थिए। खानेपानीको समस्या, सडक मर्मत, बेरोजगारी, फोहोर व्यवस्थापन र साना व्यवसायलाई सहुलियतको अभावजस्ता विषयमा स्थानीयले आफ्ना गुनासा राखेका थिए।

राईले प्रत्येक गुनासोलाई ध्यानपूर्वक सुन्दै समाधानका लागि प्रतिबद्धता जनाए। “मतदाताबाट पाएको माया, विश्वास र सुझावले मलाई अझ जिम्मेवार बनाएको छ,” उनले भने, “यो क्षेत्रको विकास र स्थानीयको जीवनस्तर उकास्ने स्पष्ट योजना लिएर म उम्मेदवार बनेको हुँ।”
विशेषगरी युवालाई लक्षित गर्दै रोजगारी सिर्जना, साना तथा घरेलु उद्योग प्रवद्र्धन, सीपमूलक तालिम तथा आधारभूत पूर्वाधार सुदृढीकरणमा आफूले प्राथमिकता दिने उनले बताए। “युवालाई रोजगारी दिन सकिएन भने समाजमा निराशा बढ्छ। त्यसैले उत्पादन र उद्यमशीलता बढाउने कार्यक्रम ल्याइनेछ,” राईको भनाइ थियो।

स्थानीयबासीले पनि राईलाई उम्मेदवारको रूपमा पाउँदा खुसी व्यक्त गरेका छन्। “हामीलाई हाम्रो समस्या सुन्ने र बुझ्ने प्रतिनिधि चाहिएको हो। राईज्यू घरमै आएर कुरा सुन्नुभयो, यसले हामीलाई आशावादी बनाएको छ,” एक स्थानीयले प्रतिक्रिया दिए। अर्का एक युवा मतदाताले भने, “यसपटक परिवर्तनको अपेक्षा गरेका छौं। हाम्रो टोल–छिमेकको समस्या संसद्सम्म पुर्याउने सक्षम प्रतिनिधि चाहिन्छ।”
चुनाव नजिकिँदै जाँदा नेपालगन्जका गल्ली–टोलमा उम्मेदवार र मतदाताबीच प्रत्यक्ष संवाद बढ्दै गएको छ। घरदैलो अभियानले उम्मेदवार र मतदाताबीच दूरी घटाएको अनुभूति गरिएको छ। स्थानीयको समस्या सुन्दै समाधानको प्रतिबद्धता व्यक्त गर्ने शैलीले राईप्रति जनलहर बढ्दो देखिएको सहभागीहरूको भनाइ छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै राईले जनतासँग निरन्तर सम्पर्कमा रहने र जित–हारभन्दा पनि क्षेत्रको दीर्घकालीन विकास आफ्नो मूल लक्ष्य रहेको स्पष्ट पारे। “जनताको विश्वास नै मेरो शक्ति हो,” उनले भने, “यो विश्वासलाई विकासमार्फत व्यवहारमा उतार्नेछु।”












