कर्णाली प्रदेश मा निर्वाचनको सम्पूर्ण तयारी पूरा, १५ हजार सुरक्षाकर्मी तैनाथ

  • नमस्ते कर्णाली

  • २०, फाल्गुन २०८२

    सुर्खेत ।कर्णाली प्रदेशमा बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेशका ९ सय ४१ मतदान स्थलमा कर्मचारी तथा निर्वाचन सामग्री पुगिसकेकाले मतदानका लागि सबै व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईले जानकारी दिएका छन्।
    उनका अनुसार ९ सय ४१ वटै मतदान स्थलमा मतपत्र, मतपेटिका लगायतका आवश्यक सामग्रीसहित निर्वाचन अधिकृत, कर्मचारी र सुरक्षाकर्मी खटाइसकिएको छ। दुर्गम जिल्ला हुम्ला र डोल्पाका २४ मतदान स्थलमा भने हेलिकोप्टरमार्फत कर्मचारी र सामग्री पुर्‍याइएको छ। “निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय र समग्र सुरक्षा तयारीलाई हेर्दा कुनै अप्रत्याशित अवस्था नआए चुनाव निर्धारित समयमै सम्पन्न हुने निश्चित छ,” चौलागाईले बताए।
    निर्वाचनको तयारी पूरा भएसँगै मतदाताहरू मतदानका लागि उत्साहित देखिएका छन्। अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा बाहिर रहेका मतदाताहरू पनि धमाधम घर फर्किरहेका छन्।
    ७७९ मतदान स्थल संवेदनशील
    प्रदेशमा ९ सय ४१ मतदान स्थल र १ हजार ४ सय ३७ मतदान केन्द्र रहेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ९ सय ४१ मतदान स्थलमध्ये ७ सय ७९ स्थल संवेदनशील श्रेणीमा परेका छन्। तीमध्ये ४ सय २० संवेदनशील, ३ सय ५९ अति संवेदनशील र १ सय ६२ सामान्य छन्।
    त्यस्तै, १ हजार ४ सय ३७ मतदान केन्द्रमध्ये १ हजार १ सय मतदान केन्द्र संवेदनशील मानिएका छन्। जसमा ६ सय ५९ संवेदनशील, ४ सय ४१ अति संवेदनशील र ३ सय १ सामान्य मतदान केन्द्र रहेका छन्। प्रदेशभर १८ मतदान स्थल अस्थायी रहेका छन्।
    प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रामप्रकाश शाहका अनुसार चुनावलाई लक्षित गरी झण्डै १५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन प्रहरी र नेपाली सेना गरी संयुक्त रूपमा सुरक्षा व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिएको उनले बताए। अति संवेदनशील क्षेत्रमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी नेपाली सेनाको हेलिकोप्टर समेत तयारी अवस्थामा राखिएको छ।
    उनका अनुसार हालसम्म कर्णालीमा मौसमी प्रतिकूलता बाहेक अन्य कुनै सुरक्षा चुनौती देखिएको छैन। “सुरक्षाकै कारण मतदान प्रभावित हुने वा स्थगित हुने अवस्था छैन,” उनले स्पष्ट पारे।
    अनुमति बिना सवारी सञ्चालनमा रोक
    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले बुधबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुँदासम्म अनुमति बिना निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको छ।
    यद्यपि, एम्बुलेन्स, खानेपानी ट्यांकर, दूध ढुवानी गर्ने सवारी, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा प्रवाह गर्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको छैन। कूटनीतिक नियोगका ‘सीडी’ नम्बर प्लेट भएका सवारी तथा अनुमति प्राप्त सवारी बाहेक अन्य सवारी साधनलाई कर्णालीका १० वटै जिल्लामा सञ्चालन गर्न निषेध गरिएको छ।
    आचारसंहिता कडाइका साथ लागू
    निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, मितव्ययी र पारदर्शी बनाउन निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ कडाइका साथ पालना गर्न जिल्ला प्रशासन कार्यालयहरूले आग्रह गरेका छन्।
    जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत डिलबहादुर कार्कीका अनुसार मंगलबार रातिदेखि लागू भएको मौन अवधिमा कुनै पनि प्रकारका चुनावी प्रचार–प्रसार, सभा, सम्मेलन, गोष्ठी वा अन्तरक्रिया गर्न पाइँदैन। उल्लंघन भएको पाइएमा कानुनअनुसार कारबाही गरिने उनले चेतावनी दिए।
    मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था छ। सामाजिक सञ्जाल, अनलाइन वा अन्य माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्ने, पक्ष–विपक्षमा प्रचार गर्ने तथा कृतिम बौद्धिकमत्ता (एआई) को प्रयोग गरी सामग्री पोस्ट वा सेयर गर्नसमेत निषेध गरिएको छ।
    मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन चिन्ह अंकित पहिरन, ब्याच, क्याप, टिसर्ट आदि प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। साथै, सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्नसमेत प्रतिबन्ध लगाइएको छ।
    तर हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकका हकमा मुख्य निर्वाचन अधिकृतको अनुमति लिएर सवारी साधन प्रयोग गर्न सकिने व्यवस्था रहेको अनुगमन अधिकृत कार्कीले जानकारी दिए।
    निर्वाचन आयोगले मतदाता तथा अनुमति प्राप्त व्यक्ति बाहेक अन्यलाई मतदान केन्द्रमा प्रवेश निषेध गरेको छ। आचारसंहिता उल्लंघन भएको पाइएमा तत्काल कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।

  • २० फाल्गुन २०८२, बुधबार ०८:५७ प्रकाशित

  • Nabintech