सुर्खेत, १४ बैशाख ।
सार्वजनिक विदाको दिन विना अनुमति सञ्चालन हुने सरकारी सवारी साधनको दुरुपयोग रोक्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले सक्रियता बढाएको छ । शनिबार र अन्य सार्वजनिक विदाका दिन सरकारी सवारी साधन निजी काममा प्रयोग हुने गरेको गुनासो बढेपछि प्रहरीले विशेष निगरानी सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा मातहतका प्रहरी इकाईहरुबाट खटिएको टोलीले आइतबार (आज) जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा सवारी पास नलिई सञ्चालन भएका दर्जन बढी सरकारी सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ ।
मध्यपूर्वी देश इरानमा अमेरिका र इजरायलले आक्रमण थालेपछि इन्धनमा आपूर्तिमा परेको संकट कम गर्न सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । सरकारको निर्णय बमोजिम शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा हुँदै आएको छ । सरकारले इन्धनको संकट कम गर्न अत्यावश्यक बाहेक सरकारी नम्बर प्लेटका सवारी नचलाउन निर्देशन दिएको थियो ।
सरकारको यहीँ निर्देशन अटेर गर्ने क्रम बढेपछि प्रहरीले एक्सन लिएको हो । प्रहरीका अनुसार विदाको दिनमा अनिवार्य रुपमा लिनुपर्ने सवारी पास नभएका विभिन्न सरकारी कार्यालयका साना तथा ठुला सवारी साधनहरुलाई सडकबाटै नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका सवारी साधनहरुमा सरकारी नम्बर प्लेट भएका जिप, कार र मोटरसाइकल छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले सरकारी सम्पत्तिको दुरुपयोग रोक्न र नियमको पूर्ण पालना गराउन अभियान थालिएको बताए । विदाको दिन अनुमति विना सरकारी सवारी साधन चलाउने प्रवृत्तिले राज्यकोषमा भार थपिने र सुशासनको बर्खिलाप हुने भन्दै प्रहरीले कडाइ गरिएको उनले बताए ।










