बाँके ,२० बैशाख ।
सरकारले देशभर सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिइरहेका बेला बाँकेको नरैनापुर गाउँपालिकाले पनि अतिक्रमणविरुद्ध कडा कदम अघि बढाएको छ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहद्वारा हस्ताक्षरित सूचनामार्फत सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बसोबास वा संरचना निर्माण गरेका व्यक्तिहरूलाई सात दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न निर्देशन दिइएको छ।
सूचनामा तोकिएको समयभित्र जग्गा खाली नगरे वा अवैध संरचना नहटाएमा गाउँपालिकाले डोजर प्रयोग गरी हटाउने चेतावनी समेत दिइएको छ। गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया अघि बढाएको गाउँपालिका अध्यक्ष शाहले जानकारी दिनुभयो।
उनका अनुसार सार्वजनिक जग्गा संरक्षणसम्बन्धी परिपत्र कार्यान्वयन गर्दै “सरकारको एक सय कार्यसूची” अन्तर्गत अतिक्रमण नियन्त्रण, संरक्षण तथा नयाँ अतिक्रमण रोक्ने नीति अनुसार अभियान सञ्चालन गरिएको हो।
स्थानीयका अनुसार करिब दुई दशकअघि पनि गाउँपालिकामा अतिक्रमण हटाउने प्रयास गरिएको थियो। तर विभिन्न शक्ति केन्द्रको संरक्षणमा पुनः अतिक्रमण बढ्दै गएको बताइएको छ।
नेकपा एमाले नरैनापुरका सचिव विनय दीक्षितले सार्वजनिक सम्पत्ति संरक्षणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको औँल्याउँदै अतिक्रमित क्षेत्रको यथार्थ विवरण तयार गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले अतिक्रमण हटाउने अभियानमा स्थानीयवासीको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै यसले दीर्घकालीन रूपमा सुव्यवस्थित बसोबास र पूर्वाधार विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।










