भूमिहीनमाथि ज्यादती  नगर्न मुख्यमन्त्री कँडेलको आग्रह

  • नमस्ते कर्णाली

  • सुर्खेत, २६ बैशाख ।

    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि ज्यादती नगर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जनतालाई आतंकित बनाउने गतिविधि बन्द हुनुपर्ने बताएका हुन् । उनले लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनुपर्ने भए पनि पछिल्लो समय नागरिक उकुसमुकुसको अवस्थामा पुगेको टिप्पणी गरे ।

    उनले वास्तविक अवस्था अध्ययन नगरी सुकुम्बासी बस्ती खाली गराउने कार्यले सर्वसाधारण त्रसित बनेको बताए । ‘लोकतन्त्रमा जनताको आवाज दबाउने प्रयास हुनु हुँदैन,’ उनले भने, ‘जनताले सुरक्षित महसुस गर्नुपर्ने हो, तर अहिले उनीहरू भय र अन्योलमा छन् ।’ मुख्यमन्त्री कँडेलले भूमिहीन तथा सुकुम्बासीको समस्या तत्कालै समाधान हुने प्रकृतिको नभएको उल्लेख गर्दै दीर्घकालीन र व्यवहारिक समाधान खोज्नुपर्ने धारणा राखे । 

    उनले २१ फागुनको निर्वाचनपछि बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले सरकारी जग्गा संरक्षण अभियान अघि बढाइरहेका बेला मानवीयपक्षलाई पनि ध्यान दिनुपर्ने बताए । कार्यक्रममा उनले रास्वपाले आफ्नो वाचापत्र कर्णालीबाट सार्वजनिक गरेको स्मरण गराउँदै आगामी बजेटमा यसअघि प्रदेश सरकारले संघीय सरकारसमक्ष राख्दै आएका योजना र प्राथमिकतालाई समेट्न आग्रह गरे ।

  • २६ बैशाख २०८३, शनिबार ११:०० प्रकाशित

  • Nabintech