जानकीको कन्या विद्यालयले बदल्दै समाजको सोच

  • नमस्ते कर्णाली

  • बाँके, २७ बैशाख ।

    बाँकेको  मा केही वर्षअघिसम्म छोरीलाई विद्यालय पठाउने कल्पना नै दुर्लभ मानिन्थ्यो । विशेषगरी मधेशी र मुस्लिम समुदायमा छोरीको जीवन घरभित्र सीमित हुने, सानै उमेरमा विवाह गरिदिने र शिक्षालाई प्राथमिकतामा नराख्ने सामाजिक सोच गहिरोसँग जरा गाडेर बसेको थियो ।

    तर अहिले त्यही समाज परिवर्तनको नयाँ कथाले उज्यालिँदै छ । स्थानीय तह स्थापना भएपछि शिक्षा र चेतनाको लहर गाउँगाउँमा फैलिन थाल्यो । “छोरी पनि पढ्नुपर्छ” भन्ने सोच विस्तारै बलियो बन्दै गयो । यही सोचलाई व्यवहारमा उतार्दै गाउँपालिकाले छात्रा मात्र अध्ययन गर्ने कन्या विद्यालय स्थापना गरेर सामाजिक परिवर्तनको ऐतिहासिक अभियान सुरु गर्‍यो ।

    गाउँपालिका अध्यक्ष , प्रवक्ता  तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत  को पहलमा २०७९ भदौ २६ गते जानकी–३ मानपुरमा कन्या विद्यालय स्थापना गरिएको थियो । यो केवल एउटा विद्यालय स्थापना गर्ने निर्णय थिएन, बरु समाजको सोच परिवर्तन गर्ने अभियानको सुरुआत थियो ।

    अध्यक्ष खाँले कन्या विद्यालयप्रति अभिभावक र छात्राहरूको बढ्दो आकर्षणले आफूहरूलाई अझ जिम्मेवार बनाएको बताए । उनले विद्यालयलाई गुणस्तरीय, प्रविधिमैत्री र सीपमूलक शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

    “स्थानीय तहले सुरुआत गर्‍यो, तर यसलाई दिगो र प्रभावकारी बनाउन संघीय र प्रदेश सरकारको साथ अपरिहार्य छ,” अध्यक्ष खाँले भने, “कन्या विद्यालयमा गरिएको लगानीले दीर्घकालमा समाज र देशकै भविष्य निर्माण गर्छ ।” उनका अनुसार छोरीको हातमा किताब पुगेपछि मात्रै समाजको वास्तविक परिवर्तन सम्भव हुन्छ । “हामीले सुरु गरेको यो अभियान अब रोकिने छैन, अझ विस्तार हुँदै जानेछ,” उनले जोड दिए ।

    शिक्षा शाखाकी सहायक अधिकृत  का अनुसार अभिभावकहरू छोरीलाई पढाउन चाहन्थे, तर उनीहरू सुरक्षित र छुट्टै वातावरणको खोजीमा थिए । कन्या विद्यालयले त्यो आवश्यकता पूरा गरिदिएको उनको भनाइ छ ।

    डरबाट विश्वाससम्म

    पहिला छोरीलाई छोरासँगै विद्यालय पठाउँदा बिग्रिन्छन् भन्ने धारणा समाजमा गहिरो थियो । तर अहिले अवस्था फेरिएको छ । कन्या विद्यालयमा छात्रा मात्र अध्ययन गर्ने र शिक्षिका मात्र रहने व्यवस्था भएपछि अभिभावकहरू ढुक्क भएका छन् ।

    स्थानीय  भन्छन, “पहिला छोरीलाई विद्यालय पठाउन डर लाग्थ्यो, अहिले भने हामी आफैँले पढ्न प्रेरित गरिरहेका छौँ ।” सुरुआती चरणमा २५० छात्राबाट सुरु भएको विद्यालयमा अहिले ५०० भन्दा बढी छात्रा अध्ययनरत छन् । विद्यालयलाई २०८३ सालदेखि माध्यमिक तहसम्म स्तरोन्नति गरिएपछि भर्नाका लागि दैनिकजसो अभिभावकको चाप बढ्न थालेको छ ।

    छोरी शिक्षासँगै सोचको पुनर्जन्म

    शिक्षा शाखा प्रमुख  का अनुसार यो विद्यालय “छोरीले पनि छोरा सरह शिक्षा पाउनुपर्छ” भन्ने सोच स्थापित गर्नका लागि खोलिएको हो । विद्यालय स्थापना भएपछि छात्राको संख्या मात्र बढेको छैन, समाजको दृष्टिकोणमा समेत व्यापक परिवर्तन आएको छ । आज जानकी गाउँपालिकामा छोरीलाई पढाउनु अभिभावकका लागि गर्वको विषय बन्न थालेको छ । विद्यालयकी प्रधानाध्यापक  भन्नुहुन्छ, “छात्राहरू यहाँ डर र त्रासबिना पढिरहेका छन् । उनीहरूको आत्मविश्वास नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो ।”

    शिक्षामा गुणस्तर र प्रतिस्पर्धा

    कन्या विद्यालय स्थापना भएपछि गाउँपालिकाभित्रका अन्य विद्यालयहरूमा पनि शैक्षिक प्रतिस्पर्धा बढेको छ । महिला नेतृत्वमा सञ्चालन भइरहेको यस विद्यालयले अनुशासन, शान्त वातावरण र गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरिरहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  का अनुसार अब टाढाका छात्रालाई समेत विद्यालय पहुँचमा ल्याउन थप बस सेवा सञ्चालन गर्ने योजना बनाइएको छ ।

    अबको चुनौतीः सीप, गुणस्तर र रोजगारी

    वरिष्ठ लेखा अधिकृत  का अनुसार शिक्षा केवल अक्षर चिन्ने माध्यम मात्र नभई जीवन निर्माणको आधार पनि हो । उनले अब शिक्षा प्रणालीलाई रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै डिजिटल साक्षरता, उद्यमशीलता, कृषि र पर्यटनजस्ता सीप विद्यालयमै सिकाउनुपर्ने बताए ।

    उनका अनुसार कन्या विद्यालयले सीपमूलक कार्यक्रम सञ्चालन गर्न सके छात्राहरूको आकर्षण अझ बढ्ने र उनीहरू आत्मनिर्भर बन्ने बाटो खुल्नेछ । प्रवक्ता टिकानाथ यादवले कन्या विद्यालय खोल्ने निर्णय गर्दा सुरुमा धेरैले शङ्का गरेको स्मरण गरे । “छोरीहरू आउँछन् त ? अभिभावकले पठाउँछन् त ? भन्ने प्रश्न उठेका थिए,” उनले भने, “तर आज त्यही विद्यालयमा भर्नाका लागि लाइन लागिरहेको छ ।”

    उनका अनुसार यो केवल विद्यालय नभई सोच परिवर्तनको आन्दोलन हो । “हिजो छोरीलाई घरभित्र सीमित राख्ने समाज आज उनीहरूको भविष्य निर्माणमा अगाडि बढिरहेको छ,” उनले भने ।

    राज्यको लगानी आवश्यक

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  ले विद्यालयलाई शैक्षिक हबका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै त्यसका लागि पर्याप्त बजेट र पूर्वाधार आवश्यक रहेको उल्लेख गरे । स्थानीय प्रयासबाट सुरु भएको यो अभियानलाई अब प्रदेश र संघीय सरकारको साथ आवश्यक देखिएको छ । यदि यस्ता कन्या विद्यालयलाई प्रविधिमैत्री, सीपमूलक र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्न सकियो भने यसले देशभर छोरी शिक्षामा ठूलो परिवर्तन ल्याउन सक्ने विश्वास गरिएको छ ।

    जानकी गाउँपालिकाको कन्या विद्यालय आज केवल एउटा शैक्षिक संस्था मात्र होइन, सामाजिक क्रान्तिको प्रतीक बनेको छ । जहाँ कहिल्यै छोरीलाई घरबाहिर निस्कन नदिने सोच थियो, त्यही समाज आज छोरीको भविष्य निर्माणमा अग्रसर देखिएको छ । जानकीको यो उदाहरणले अवसर पाए छोरीहरूले समाज परिवर्तन गर्न सक्छन् भन्ने सन्देश देशभर फैलाइरहेको छ ।

  • २७ बैशाख २०८३, आईतवार ०८:५३ प्रकाशित

  • Nabintech