हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले रानीसैन क्षेत्रलाई लिएर भइरहेको विवादप्रति कडा प्रतिक्रिया जनाउँदै बाजुराबासीमाथि भएको कुटपिटको विरोध गरेकी छन् ।
उनले रानीसैन बाजुरामै पर्ने विषय कुनै बहसको विषय नभएको दाबी गर्दै नक्सा, इतिहास र प्रमाणले उक्त क्षेत्र बाजुराकै भएको स्पष्ट देखाइसकेको बताइन् ।
उपाध्यक्ष सार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बलजफ्ती र हिंसात्मक गतिविधिबाट सत्य परिवर्तन गर्न खोज्नु “मूर्खता” भएको टिप्पणी गरेकी छन् । “यदि साँच्चिकै दाबी छ भने प्रमाण लिएर आउनुहोस्, कानुनी बाटो अपनाउनुहोस्,” उनले भनिन् ।
उनले ‘हाम्रो भूमि’ भन्ने नाममा बाजुराबासीमाथि हातपात गर्नु, प्रहरी चौकी स्थापना रोक्न खोज्नु वा क्षेत्र कब्जा गर्ने प्रयास गर्नु स्वीकार्य नहुने चेतावनी दिएकी छन् ।
“उत्तेजना र हिंसाले समस्या समाधान हुँदैन, बरु अवस्था झन् गम्भीर बन्छ,” भन्दै उनले सम्बन्धित पक्षलाई संयमता अपनाउन आग्रह गरेकी छन् ।
साथै उनले घटनालाई सामान्य रूपमा नलिन सम्बन्धित निकायलाई आग्रह गर्दै छिटो छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेकी छन् । बाजुराबासीको सुरक्षाको सुनिश्चितता गर्न पनि उनले सरकारसँग माग गरेकी छन् ।
अन्त्यमा उनले “रानीसैन बाजुराको हो, थियो र रहनेछ” भन्दै धम्की र हिंसाले सत्यलाई कहिल्यै बदल्न नसक्ने उल्लेख गरेकी छन् ।










