‘गणतन्त्र सुदृढीकरणका लागि  दलहरूबीच सहकार्य आवश्यक’

  • नमस्ते कर्णाली

  • सुर्खेत, १६ जेठ ।
    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संविधान कार्यान्वयनमा सबै राजनीतिक दल तथा नागरिक एकजुट हुनुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कँडेलले जनताको बलिदान, त्याग र संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक इतिहासको गौरवपूर्ण उपलब्धि भएको बताए । उनले विभिन्न राजनीतिक आन्दोलनमा अग्रणी भूमिका खेल्ने नेताहरू, नागरिक समाज, राजनीतिक कार्यकर्ता तथा आम जनसमुदायको योगदानको उच्च प्रशंसा गर्दै गणतन्त्र दिवस जनताको सार्वभौम अधिकार स्थापित भएको ऐतिहासिक दिन भएको बताए ।
    मुख्यमन्त्री कँडेलले संविधानअनुसार राज्य संयन्त्रमा भएका परिवर्तन जनताले प्रत्यक्ष अनुभूत गर्न सक्ने गरी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । जनतालाई केन्द्रमा राखेर सञ्चालन हुने शासन प्रणालीले मात्रै गणतन्त्रलाई थप परिपक्व र सुदृढ बनाउन सक्ने उल्लेख गर्दै उनले गणतान्त्रिक व्यवस्थामा आचरण र व्यवहार पनि उन्नत तथा सुसंस्कृत हुनुपर्ने बताएका छन् । उनले कुनै पनि शासन प्रणाली संस्थागत हुन समय लाग्ने भन्दै विकास क्रममा कमीकमजोरी देखिनु स्वाभाविक भएको बताए । नागरिकका अपेक्षा पूरा नहुँदा असन्तुष्टि र आलोचना हुनु स्वाभाविक भए पनि त्यसलाई व्यवस्थाको असफलतासँग जोडेर गणतन्त्रमाथि प्रश्न उठाउने वा पुरानो व्यवस्थातर्फ फर्काउने प्रयास नेपाली जनताले स्वीकार नगर्ने उनले स्पष्ट पारेका छन् । मुख्यमन्त्री कँडेलले विगतमा राजनीतिक परिवर्तनका क्रममा दलहरूबीच देखिएको सहमति, सहकार्य र एकताको भावनालाई अब मुलुकको विकास र समृद्धिमा पनि कायम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको जगमा बनेको संघीय सरकारले गणतन्त्र सुदृढीकरणका लागि दलहरूबीच सार्थक संवाद र सहकार्य बढाउनुपर्नेमा उनले विशेष आग्रह गरेका छन् ।

  • १६ जेष्ठ २०८३, शनिबार १२:२० प्रकाशित

  • Nabintech