रास्वपा प्रदेश अधिवशेन आज

  • नमस्ते कर्णाली

  • सुर्खेत, ३१ जेठ । 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन आज (आइतबार) हुँदैछ । बिहान ११ बजेबाट सुरु हुने अधिवेशनलाई रास्वपा महामन्त्री भुपदेव शाह र सहमहामन्त्री विपिन आचार्यले सम्बोधन गर्नेछन् । अधिवेशनले पाँच वर्षका लागि प्रदेशको नेतृत्व चयन गर्नेछ । 

    रास्वपा नेता सुदिप पुरीका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको छ । अधिवेशनमा सहभागी हुन १० जिल्लाका प्रतिनिधिसमेत वीरेन्द्रनगर पुगिसकेका छन् । रास्वपा कर्णाली प्रदेशको भावी नेतृत्वका लागि वर्तमान पदाधिकारीदेखि २१ फागुन २०८२ को निर्वाचनमा टिकटको लोभले रास्वपा प्रवेश गरेका समेत गरी पाँच जना आकांक्षी देखिएका छन् । 

    अधिवेशनबाट वर्तमान प्रदेश सभापति सुर्खेतका मदन खड्का दोहोरिन खोजिरहेका छन् । खड्का सँगै दैलेखका नन्दकिशोर बस्नेत, वर्तमान कोषाध्यक्ष सुर्खेतकी स्नेहा उपाध्याय, रुकुम पश्चिम पे्रमबहादुर बोहोरा र रुकुम पश्चिमकै मानबहादुर शाही सभापतिको दौडमा छन् । ‘सभापतिको दौडमा पाँच जना देखिनु भएको छ । सकेसम्म सहमतिबाटै टुङ्गो लगाउने गरी छलफल चलिरहेको छ,’ रास्वपा स्रोतले भन्यो । 

    सभापतिको दौडमा रहेका बस्नेत २१ फागुन २०८२ को निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेर रास्वापा प्रवेश गरेका थिए । एमाले परित्याग गरेर रास्वपामा टिकट पाएका बस्नेत दैलेख क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी बासना थापासँग पराजित भएका थिए । 

    त्यस्तै, २०७९ को आम निर्वाचनपछि माओवादी त्यागेर रास्वपामा लागेका शाही रुकुम पश्चिम जिल्ला सभापति भइसकेका व्यक्ति हुन् । सभापतिको दौडमा रहेका बोहोरा पनि रुकुम पश्चिमका हुन् । उनी यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाबाट खस आर्यतर्फ बन्दसूचीमा थिए । 

  • ३१ जेष्ठ २०८३, आईतवार ०८:२८ प्रकाशित

  • Nabintech