स्वस्थ भान्सामार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न खजुरामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • नमस्ते कर्णाली

  • बाँके ,४ असार ।
    बाँकेको खजुरा गाउँपालिकामा स्वस्थकर जीवनशैली प्रवर्द्धन तथा नसर्ने रोगहरूको न्यूनीकरण गर्ने उद्देश्यले भान्सा सुधारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। खजुरा गाउँपालिका अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा सहभागीहरूले स्वस्थ जीवनको आधार स्वस्थ भान्सा भएको बताएका छन्।
    कार्यक्रममा दैनिक रूपमा प्रयोग गरिने खाद्यवस्तुको छनोट, तयारी तथा उपभोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो। गृहिणी आमा, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका प्रतिनिधि, होटल व्यवसायी, राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवी व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रममा स्वस्थकर खानपानको संस्कार विकास गर्न सके मधुमेह, उच्च रक्तचाप, मुटुरोगलगायत नसर्ने रोगहरूको जोखिम न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरिएको थियो।
    सामाजिक विकास संयोजक कृष्णाकुमारी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले अधिकांश रोगहरूको सुरुआत अस्वस्थ खानपान र भान्साको अव्यवस्थित व्यवस्थापनबाट हुने भएकाले विशेषगरी गृहिणी महिलाहरू सचेत हुन आवश्यक रहेको बताए। उनले परिवारको स्वास्थ्य संरक्षणका लागि पोषणयुक्त खानाको प्रयोग, भान्साको सरसफाइ तथा व्यवस्थित व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे।
    कार्यक्रमकी अध्यक्ष पोखरेलले स्वस्थ जीवनको मूल आधार स्वस्थ भान्सा रहेको बताउँदै घरको भान्साबाटै सकारात्मक परिवर्तनको सुरुआत गर्न सके दीर्घायु, निरोगी तथा गुणस्तरीय जीवनयापन सम्भव हुने बताइन्। उनले रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्न नदिन आवश्यक वातावरण निर्माण गर्नु नै प्रभावकारी उपाय भएको धारणा व्यक्त गरिन्।
    अभिमुखीकरण कार्यक्रममा सहभागीहरूलाई स्वस्थकर खानपान, पोषणयुक्त आहार, स्थानीय उत्पादनको उपयोग, सन्तुलित भोजन तथा नसर्ने रोगहरूको रोकथामसम्बन्धी जानकारी प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण नागरिक आरोग्य सेवा केन्द्र खजुराका प्रमुख किरण खनालले गरेका थिए भने प्राविधिक सहयोग बाँके जिल्ला आयुर्वेद कार्यालयले गरेको थियो।
    स्वस्थकर जीवनशैली अपनाउने, पोषणयुक्त खाद्यान्नको प्रयोग बढाउने तथा घरपरिवारमै स्वास्थ्य प्रवर्द्धन गर्ने अभियानलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रमले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने आयोजकले जनाएको छ।

  • ४ असार २०८३, बिहीबार ०७:२३ प्रकाशित

  • Nabintech