चितवन ,८ असार।
चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनले देशभरका नेता–कार्यकर्ता तथा प्रतिनिधिहरूलाई एकै थलोमा जुटाएको छ। ७७ वटै जिल्लाबाट आएका प्रतिनिधिहरू आफ्नो उम्मेदवारलाई जिताउन सक्रिय रहँदा महाधिवेशनस्थलमा चुनावी सरगर्मी पनि बढेको छ। यही क्रममा केन्द्रीय सदस्य पदका उम्मेदवार भरत प्रसाद पनेरूको नाम कार्यकर्तामाझ विशेष रूपमा चर्चामा आएको छ।
रास्वपाको स्थापना कालदेखि नै सक्रिय रहँदै आएका पनेरूलाई लुम्बिनी प्रदेशमा विधि, निष्ठा र सहअस्तित्वको राजनीतिका पक्षधर नेताका रूपमा चिनिने गरिएको छ। उनले पार्टीभित्र कुनै गुट वा समूहको पक्षधर बन्नुभन्दा संगठनलाई नीति, विधि र संस्थागत मूल्यमान्यताअनुसार सञ्चालन गरिनुपर्ने धारणा निरन्तर उठाउँदै आएका छन्।
सहकर्मीहरूलाई निषेध गर्ने वा कमजोर बनाउने प्रवृत्तिभन्दा माथि उठेर सबैलाई समेट्ने, सुधार गर्ने र सहकार्यको वातावरण निर्माण गर्ने उनको शैलीले उनलाई लुम्बिनी प्रदेशका कार्यकर्तामाझ छुट्टै पहिचान दिलाएको बताइन्छ। समर्थकहरूका अनुसार पनेरूले लुम्बिनी प्रदेशलाई केवल भौगोलिक क्षेत्रका रूपमा नभई रास्वपाको महत्वपूर्ण राजनीतिक आधारभूमिका रूपमा हेर्दै आएका छन्।
पनेरूको शैक्षिक तथा बौद्धिक पृष्ठभूमिलाई पनि उनका समर्थकहरूले प्रमुख सबल पक्षका रूपमा प्रस्तुत गरेका छन्। उनले समाजशास्त्र र भौतिकशास्त्रमा स्नातकोत्तर तह पूरा गरेका छन् भने ग्रामीण विकास विषयमा अध्ययनरत रहेका छन्। साथै मानविकी, शिक्षाशास्त्र, कानुन, व्यवस्थापन तथा विज्ञान विषयमा स्नातक तहको अध्ययनसमेत सम्पन्न गरेका छन्।
समर्थकहरूका अनुसार उनको उम्मेदवारीका मुख्य आधारहरूमा विधिको शासन स्थापित गर्ने प्रतिबद्धता, उच्च शैक्षिक योग्यता, व्यवहारिक शालीनता तथा भेदभावरहित समावेशी नेतृत्व क्षमता रहेका छन्। पार्टीलाई व्यक्तिकेन्द्रित नभई नीति, प्रणाली र संस्थागत अभ्यासमा आधारित संगठनका रूपमा विकास गर्न सक्ने नेताका रूपमा पनेरूलाई प्रस्तुत गरिएको छ।
रास्वपाभित्र एकता, सहअस्तित्व र विधिको पक्षमा निरन्तर आवाज उठाउँदै आएका पनेरूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउन समर्थकहरूले प्रतिनिधिहरूसँग मतदानको अपिल गरेका छन्।
“लुम्बिनीको आवाज, विधिको वकालत — केन्द्रीय सदस्यमा भरत प्रसाद पनेरू” भन्ने नारासहित उनको उम्मेदवारीलाई महाधिवेशनमा व्यापक समर्थन जुटिरहेको समर्थकहरूको दाबी छ। महाधिवेशनको मतदान प्रक्रियासँगै केन्द्रीय नेतृत्व चयनको प्रतिस्पर्धा रोचक बन्दै गएको छ।










