कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै १ करोड १७ लाख १९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। २०औँ नगरसभामा नगर प्रमुख पूर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम तथा नगर उपप्रमुख सङ्गीता सुवेदीले बजेट प्रस्तुत गर्दै स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र रोग रोकथाममुखी बनाउने योजना सार्वजनिक गरेका हुन्।
नगरपालिकाले ‘रोग लागेपछि उपचार गर्नेभन्दा रोग नै लाग्न नदिने’ अवधारणालाई केन्द्रमा राखेर स्वास्थ्य प्रवर्द्धन, नियमित स्वास्थ्य परीक्षण, सरसफाइ, स्वच्छ वातावरण, पोषण सुधार तथा स्वस्थ जीवनशैली प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ। समुदायस्तरमा नियमित स्वास्थ्य स्क्रिनिङ, जनचेतनामूलक कार्यक्रम तथा अन्तरनिकाय समन्वयमार्फत रोग रोकथाममुखी स्वास्थ्य प्रणाली विकास गरिने जनाइएको छ।
स्वास्थ्य सचेतना अभिवृद्धिका लागि योग, व्यायाम तथा स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम वडा तहसम्म विस्तार गरिनेछ। सामुदायिक सहभागितामा आधारित योग, व्यायाम र जुम्बा नृत्य कार्यक्रमलाई प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ।
बढ्दो नसर्ने रोगको चुनौतीलाई ध्यानमा राख्दै ३० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोग, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरलगायत रोगको प्रारम्भिक पहिचान र रोकथाममा विशेष जोड दिइनेछ।
मानसिक स्वास्थ्यलाई पनि स्वास्थ्य कार्यक्रमको महत्वपूर्ण अंगका रूपमा समेट्दै परामर्श सेवा विस्तार, आत्महत्या रोकथाम तथा समुदाय केन्द्रित सचेतना कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ। साथै, सरसफाइ, स्वास्थ्य सूचक र जनचेतना अभिवृद्धिका लागि ‘स्वस्थ वडा प्रतिस्पर्धा कार्यक्रम’ सुरु गरी उत्कृष्ट कार्य गर्ने वडालाई पुरस्कृत गरिनेछ।
कोहलपुर नगर अस्पतालमार्फत विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्यसहित सरकारी तथा निजी अस्पतालसँगको सहकार्यमा प्रत्येक हप्ता विशेषज्ञ चिकित्सकसहित बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। शिविरमार्फत प्रारम्भिक रोग पहिचान, परामर्श तथा उपचार सेवा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।
किशोरीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै मर्यादित महिनावारी तथा स्वच्छता कार्यक्रमअन्तर्गत नगरभित्रका सबै विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण तथा सुरक्षित विसर्जन व्यवस्थालाई निरन्तरता दिइनेछ।
आमा तथा नवजात शिशुको जीवन सुरक्षा सुनिश्चित गर्न गुणस्तरीय मातृ–शिशु स्वास्थ्य सेवामा पहुँच विस्तार गरिनेछ भने सुरक्षित प्रसूति सेवामार्फत ‘शून्य मातृ मृत्युदर’ अभियानलाई थप प्रभावकारी बनाइने नीति लिइएको छ।
थारु समुदायमा देखिने सिकलसेल एनिमिया तथा थालसिमिया रोगको पहिचान, उपचार र निदानका लागि सिकलसेल प्रयोगशालालाई थप प्रभावकारी बनाइनेछ। निजी स्वास्थ्य संस्थाहरूको वर्गीकरण, दर्ता, जनशक्ति, पूर्वाधार तथा सेवा प्रवाहसम्बन्धी अभिलेख अद्यावधिक गरी स्वास्थ्य सेवा गुणस्तर सुनिश्चित गर्न प्रभावकारी अनुगमन तथा नियमन प्रणाली लागू गरिने जनाइएको छ।
नगर अस्पताल, नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र तथा आधारभूत स्वास्थ्य केन्द्रहरूको संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिइनेछ। साथै, लागू पदार्थ दुर्व्यसन रोकथाम तथा नियन्त्रणका लागि जोखिममा रहेका युवा तथा किशोर–किशोरीको पहिचान, परामर्श र पुनःस्थापना कार्यक्रम सञ्चालन गरिनेछ।
त्यसैगरी, तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा कोहलपुर नगर अस्पतालमा नेत्र रोग इकाइ स्थापना गरी आँखा उपचार सेवा विस्तार गरिने भएको छ। कोहलपुर क्षेत्रमा रगत अभावको समस्या समाधान गर्न नेपाल रेडक्रससँगको सहकार्यमा ब्लड बैंक स्थापना प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले उपचारमुखीभन्दा रोकथाममुखी स्वास्थ्य प्रणालीलाई प्राथमिकता दिँदै नागरिकलाई गुणस्तरीय, सर्वसुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।










