खेती विस्तार गर्न संगठित भए सुर्खेतका कफी उत्पादक किसान

  • नमस्ते कर्णाली

  • सुर्खेत, १५ असार ।
    व्यावसायिक कफी खेतीमा लागेका सुर्खेतका किसानहरु संगठित भएका छन् । नगदेवालीको रुपमा रहेको कफी सुर्खेतका विभिन्न पालिकामा व्यावसायिक उत्पादनको उच्च सम्भावना देखिएपछि यसको खेती विस्तार गर्न किसानहरु संगठित भएका हुन् । उनीहरु वीरेन्द्रनगर–१२ मा कार्यालय रहने गरी कफी किसान संघ सुर्खेतका नामबाट संगठित भएका हुन् । जसको अध्यक्षमा अर्जुनकुमार बुचामगर र उपाध्यक्षमा भरत राना चयन भएका छन् । आइतबार कफी किसानको भेलाले संघको सचिवमा हरिप्रसाद लामिछाने, कोषाध्यक्षमा ललिता खरेललाई चयन गरेको हो । यस्तै, पूर्ण कुँवर, पवित्रा पुनमगर, छविलाल आचार्य संघको सदस्यमा चयन भएका छन् ।
    संघको सल्लाहकारमा तुलाराम सिजाली, सदस्यमा मोहोनकुमार आचार्य र अनिता थापा चयन भएका छन् । साथै, उक्त भेलाले कर्णाली प्रदेशमा चिया तथा कफी विकास बोर्डको कार्यालय नहुँदा यस क्षेत्रका किसानलाई प्यूठानबाट सेवा लिनु पर्ने बाध्यता रहेकाले उक्त कार्यालय सुर्खेतमा स्थापना गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश योजना आयोग र चिया तथा कफी विकास बोर्डको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ । सरकारी अध्ययन अनुसार कर्णालीका सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम र कालीकोट कफी खेतीको उच्च सम्भावना बोकेका जिल्ला हुन् । यी जिल्लामा कफी उत्पादनको उच्च सम्भावना रहेपनि सरकारी उपेक्षाकै कारण खेती विस्तार हुन नसकेको किसानहरुको गुनासो छ । सुर्खेतको बराहताल गाउँपालिका–३ का किसान समेत रहेको संघका सल्लाहकार मोहोन आचार्यले कर्णालीका विभिन्न जिल्लामा उत्पादन हुने कफीमा उच्च गुणस्तर पाइएकाले खेती विस्तारमा लागेको बताए । उनले वर्षेनी झण्डै पाँच क्वीन्टलभन्दा बढी कफी बजार पठाउनसमेत थालिसकेका आचार्यले मूल्य पनि राम्रो पाउने गरेको बताए ।

  • १५ असार २०८३, सोमबार १८:११ प्रकाशित

  • Nabintech