जीवन ज्योति स्कुलको सामाजिक अभियान : विद्यार्थीकै पहलमा सरकारी विद्यालयका विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

  • नमस्ते कर्णाली

  • कोहलपुर,१६ असार ।
    बाँकेको कोहलपुरस्थित जीवन ज्योति माध्यमिक विद्यालयले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै सरकारी विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा कोहलपुर नगरपालिका–१० स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय का विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
    “ज्ञान नै उज्ज्वल भविष्यको आधार हो” भन्ने विश्वासका साथ आयोजित कार्यक्रममा जीवन ज्योतिका विद्यार्थीहरूले आफ्नै खाजा खर्चबाट रकम बचत गरी आफूजस्तै आर्थिक रूपमा कमजोर साथीहरूलाई सहयोग गरेका थिए। विद्यार्थीहरूको यो मानवीय र प्रेरणादायी अभियानले सहयोग, सद्भाव र सामाजिक उत्तरदायित्वको उत्कृष्ट सन्देश दिएको विद्यालयले जनाएको छ।
    जीवन ज्योति माध्यमिक विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष सरकारी विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आएको र यस वर्ष पनि उक्त अभियानलाई निरन्तरता दिइएको जानकारी दिनुभयो। उहाँले विद्यार्थीमा सानैदेखि सेवा, सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।
    श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय परिवारले जीवन ज्योति माध्यमिक विद्यालयप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने अपेक्षा गरेको छ। विद्यालयका प्रतिनिधिहरूले जीवन ज्योति विद्यालयबाट प्रेरणा लिएर अन्य निजी विद्यालयहरूले पनि सरकारी विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न सके सबै बालबालिकाका लागि शिक्षामा पहुँच अझ सहज हुने विश्वास व्यक्त गरेका छन्।
    कार्यक्रममा सहभागी जीवन ज्योति माध्यमिक विद्यालयका कक्षा ८ का विद्यार्थीहरूले आफ्नै सानो बचतबाट साथीहरूलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएका थिए। उनीहरूले समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्न पाएकोमा गर्व महसुस भएको बताएका छन्।
    कोहलपुर क्षेत्र मात्र नभई बाँके जिल्लामै उत्कृष्ट शैक्षिक गुणस्तर, अनुशासन, नवप्रवर्तन र सामाजिक सेवाका गतिविधिमा अग्रणी विद्यालयका रूपमा परिचित जीवन ज्योति माध्यमिक विद्यालयले शिक्षा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व, मानवीय सेवा र नेतृत्व विकासका क्षेत्रमा पनि निरन्तर उदाहरणीय भूमिका निर्वाह गर्दै आएको छ।

  • १६ असार २०८३, मंगलवार १७:३४ प्रकाशित

  • Nabintech