जुम्ला ,१६ असार ।
जुम्लालाई कर्णाली प्रदेशको चौथो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। आठवटै स्थानीय तहलाई जेठभित्र पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि सोमबार जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो। जिल्लामा एक नगरपालिका र सात गाउँपालिका रहेका छन्।‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लालाई कर्णाली प्रदेशको चौथो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले बताए।जुम्लाका कुल ५ हजार ४ सय ३५ जना बालबालिकालाई खोप लगाइएको छ। जसमध्ये जन्मेदेखि पाँच वर्षमुनिका २ हजार ६८ जना बालबालिकाले खोप पाएका छन् भने १६ महिनादेखि २३ महिनासम्मका ३ हजार ३ सय ६७ जना बालबालिकालाई खोप लगाइएको छ।जन्मेदेखि पाँच वर्षमुनिका पातारासी गाउँपालिकामा ४ सय ६७ जना तथा १६ महिनादेखि २३ महिनासम्मका २ सय ४४ जना बालबालिकाले खोप पाएका छन्। कनासुन्दरी गाउँपालिकामा पाँच वर्षमुनिका २ सय १८ जना र १६ महिनादेखि २३ महिनासम्मका ४ सय ७२ जना बालबालिकाले खोप पाएका छन्। यस्तै सिंजा गाउँपालिकामा पाँच वर्षमुनिका २ सय ३० जना तथा १६ महिनादेखि २३ महिनासम्मका ५ सय ७८ जना बालबालिकालाई खोप लगाइएको छ।चन्दननाथ नगरपालिकामा पाँच वर्षमुनिका २ सय ७९ जना तथा १६ महिनादेखि २३ महिनासम्मका ८ सय ७५ जना बालबालिकालाई खोप लगाइएको जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी प्रेम सुमाईले बताए। उनका अनुसार गुठीचौर गाउँपालिकामा पाँच वर्षमुनिका १ सय ६५ जना तथा १६ महिनादेखि २३ महिनासम्मका १ सय २० जना बालबालिकालाई खोप लगाइएको जिल्ला खोप समन्वय समितिले जनाएको छ।त्यस्तै तातोपानी गाउँपालिकामा पाँच वर्षमुनिका २ सय ६३ जना तथा १६ महिनादेखि २३ महिनासम्मका ६ सय ६१ जना, तिला गाउँपालिकामा पाँच वर्षमुनिका २ सय ४३ जना तथा १६ महिनादेखि २३ महिनासम्मका २ सय ५१ जना, र हिमा गाउँपालिकामा पाँच वर्षमुनिका १ सय ९४ जना तथा १६ महिनादेखि २३ महिनासम्मका १ सय ६६ जना बालबालिकालाई खोप लगाइएको थियो।आठवटै स्थानीय तहमध्ये सबैभन्दा पहिले पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललितबहादुर रोकायालाई अविर र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै सबै स्थानीय तहका स्वास्थ्य शाखालाई प्रमाणपत्र प्रदान गरिएको थियो।गर्भवतीका लागि एक, किशोरीका लागि एक र नियमित कार्यक्रमअन्तर्गतका नौ गरी ११ वटा खोप प्राप्त गरेको सुनिश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।जिल्ला समन्वय समिति जुम्लाका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले बालबालिकाको जीवन बचाउन महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्थानीय तहको योगदान उल्लेखनीय रहेको बताउँदै सोही सहकार्यका कारण जुम्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्न सफल भएको बताए।स्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाले खोप तालिकामा उल्लेखित सबै खोप लगाइसक्नुपर्ने भए पनि विभिन्न कारणले छुटेका १६ देखि ५९ महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरी ‘खोज र खोप’ अभियान सञ्चालन गरेर सबै मात्रा पूरा गरेपछि मात्र पूर्णखोप सुनिश्चितता घोषणा गर्ने प्रावधान छ।कार्यक्रममा सहभागी हुन आएका कर्णाली प्रदेश खोप समन्वय समिति सदस्य तथा जनस्वास्थ्य अधिकृत ओमप्रसाद पौडेलले दैलेख, सुर्खेत र कालीकोटपछि जुम्लाले पूर्णखोप सुनिश्चितता जिल्लाको रूपमा नाम दर्ज गरेकोमा बधाइ दिँदै खोपबाट कुनै पनि बालबालिका नछुट्ने वातावरण बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहने बताए।उनले स्थानीय स्तरबाट लक्षित बालबालिका नछुटाउने, अपाङ्गताबाट बचाउने र सबै बालबालिकाले खोप पाउने विषय सुनिश्चित गर्नु नै प्रमुख उद्देश्य रहेको बताए। माघ, फागुन र चैतमा घरधुरी सर्वेक्षण गरी वैशाखलाई खोप महिनाका रूपमा अभियान सञ्चालन गरिएको, छुटेका बालबालिकालाई जेठमा खोप दिएर वडा, गाउँपालिका, जिल्ला हुँदै प्रदेशलाई पूर्णखोपयुक्त घोषणाको तालिका तय गरिएको जानकारी दिँदै असार अन्तिमसम्म कर्णाली प्रदेशलाई पनि पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गरिने बताए। ओमप्रसाद पौडेलले जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र प्रदान गरेका थिए।जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका थिए। जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले पूर्णखोप सुनिश्चितता भनेको तोकिएको अवधिभित्र सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेको अवस्था भएको बताए। उनले महिला स्वास्थ्य स्वयंसेविकाले हरेक वडामा जन्मिएका बालबालिकालाई खोप सेवासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।उनले खोपको गुणस्तर र प्रभावकारिता पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै गाउँ–टोलदेखि जोखिमपूर्ण अवस्थासम्म पुगेर सेवा दिइरहेका स्वास्थ्यकर्मीहरूले नागरिकको जीवन रक्षा गरिरहेको उल्लेख गर्दै देशभरका स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त गरे।









