बाँकेमा जडीबुटी उत्पादनको गुणस्तर जोगाउन आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

  • नमस्ते कर्णाली

  • बाँके ,१८ असार।
    डिभिजन वन कार्यालय बाँकेले किसानले उत्पादन गरेका जडीबुटीजन्य प्रशोधित सामग्रीको गुणस्तर संरक्षण, सुरक्षित भण्डारण तथा उचित बजारीकरण सुनिश्चित गर्ने उद्देश्यले आधुनिक भण्डारण केन्द्र निर्माण सुरु गरेको छ। जिल्लाको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरस्थित जयदुर्गा सामुदायिक वन क्षेत्रमा निर्माण हुन लागेको उक्त केन्द्रले जडीबुटी खेतीमा संलग्न किसानलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
    डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले किसानले वर्षौंदेखि व्यावसायिक रूपमा मेन्था, लेमनग्रास, क्यामोमाइललगायत विभिन्न जडीबुटी खेती गर्दै आए पनि प्रशोधनपछि उत्पादन हुने तेल सुरक्षित रूपमा भण्डारण गर्ने सुविधा अभाव रहेको बताउनुभयो। यही समस्यालाई समाधान गर्दै उत्पादनको गुणस्तर कायम राखी किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले अत्याधुनिक भण्डारण केन्द्र निर्माण सुरु गरिएको उहाँले जानकारी दिनुभयो।
    उहाँका अनुसार केन्द्रमा वातानुकूलित प्रिफ्याब्रिकेटेड इन्सुलेटेड स्यान्डविच प्यानल प्रविधि प्रयोग गरिनेछ। यस प्रविधिबाट जडीबुटीबाट निकालिएको तेललाई आवश्यक तापक्रममा सुरक्षित राख्न सकिने भएकाले यसको गुणस्तर लामो समयसम्म कायम रहने विश्वास गरिएको छ।
    वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार हाल किसानले उत्पादन गरेको जडीबुटीको तेल चर्को घाम, तापक्रमको उतारचढाव तथा चुहावट (सिपेज) का कारण गुणस्तरमा ह्रास आउने, रासायनिक तत्त्व घट्ने र तौलसमेत कम हुने समस्या भोग्दै आएका छन्। यसका कारण किसानले उत्पादनको उचित मूल्य नपाउने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो।
    उहाँले आधुनिक भण्डारण केन्द्र सञ्चालनमा आएपछि उत्पादनको गुणस्तर संरक्षण हुने, बजारमा प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सहज हुने र किसानको आम्दानीसमेत वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो।
    वन कार्यालयले मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित क्षेत्रका किसानलाई वैकल्पिक आयआर्जनका रूपमा मेन्था, लेमनग्रास र क्यामोमाइलजस्ता जडीबुटी खेतीतर्फ आकर्षित गर्दै आएको जनाएको छ। वन्यजन्तुले कम क्षति पुर्‍याउने यस्ता बालीले किसानको आयआर्जन वृद्धि गर्नुका साथै कृषि विविधीकरणमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।
    कार्यालयका अनुसार प्रशोधनपछि उत्पादन हुने तेलको सुरक्षित भण्डारण, प्रभावकारी बजारीकरण तथा मूल्य अभिवृद्धिको अभावका कारण पछिल्ला वर्षहरूमा धेरै किसान जडीबुटी खेतीबाट विमुख हुँदै गएका छन्। उत्पादनअनुसार प्रतिफल प्राप्त गर्न नसक्दा किसान निरुत्साहित भएको अवस्थालाई मध्यनजर गर्दै १२ लाख रुपैयाँको लागतमा आधुनिक भण्डारण पूर्वाधार निर्माण थालिएको हो।
    वन कार्यालयले भण्डारण केन्द्र सञ्चालनमा आएपछि जडीबुटीजन्य उत्पादनको गुणस्तर संरक्षण, बजार पहुँच विस्तार तथा किसानको आयवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। स्थानीयवासीले पनि यस पहललाई जडीबुटी खेतीको पुनरुत्थान, ग्रामीण जीविकोपार्जन सुदृढीकरण तथा मानव–वन्यजन्तु द्वन्द्व प्रभावित क्षेत्रमा वैकल्पिक खेती विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिएका छन्।

  • १८ असार २०८३, बिहीबार ०८:०८ प्रकाशित

  • Nabintech