सुर्खेत, २२ असार ।
कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा कर्णाली नदीमा खसेको फोर्स गाडी र त्यसमा सवार यात्रुको अवस्था अझै अज्ञात छ । बिहिबार (१८ असार) बिहान झण्डै ११ः३० बजेको समयमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेतडा क्षेत्रबाट कर्णाली नदीमा खसेको थियो ।
घटना घटेको चार (आइतबार) दिनसम्म पनि गाडी र त्यसमा सवार यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन । नदीमा खसेका गाडी र यात्रुको खोजीमा अत्याधुनिक प्रविधिसहितको मानव जनशक्ति खटिएको छ । तर, कर्णाली नदीको पानी अत्याधिक धमिलो र उच्च बहावका कारण खोजी कार्यमा कठिनाई भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानीरिक्षक (डीआईजी) जयराज सापकोटाले जानकारी दिए ।
उनका अनुसार हालसम्म दुर्घटनास्थलदेखि तलका सम्भावित क्षेत्रमा खोजी भइरहे पनि गाडी र यात्रु फेला परेका छैनन् । दुर्घटनाग्रस्त गाडी र यात्रुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हेलिकोप्टर, ड्रोन तथा गोताखोरको सहायताले खोजी कार्यलाई निरन्तरता दिइरहेका छन् ।
प्रहरीका अनुसार खोजी कार्यमा सुरक्षा निकायका एक सय ७६ जनशक्ति खटिएका छन् । सेनाले दुर्घटनास्थलदेखि बर्दियासम्मको कर्णाली नदी क्षेत्रमा करिब ७० जना सैनिक खटाएर सम्भावित क्षेत्रमा खोजी कार्य गरिरहेको छ । यस्तै, गोताखोरसहित सशस्त्र प्रहरीका ३६ र नेपाल प्रहरीका ७० जनाको उद्दार टोली खटाइएको प्रहरीले जनाएको छ ।
प्रहरीको तथ्यांक अनुसार दुर्घटना भएकै दिन एक जनाको शव नदीमा नखसेको अवस्थामा फेला परेको थियो । हालसम्म दुर्घटनाग्रस्त गाडीमा कति जना यात्रु सवार थिए भन्ने विषय पनि खुलेको छैन । यातायात व्यवसायीको अभिलेख अनुसार उक्त गाडीमा पाँच जनाले टिकट काटेको देखिन्छ । तर, बीच बाटोमा अन्य यात्रु पनि थपिएको हुनसक्ने सुरक्षा निकायको अनुमान छ ।







