बर्दिया ,२४ असार ।
बर्दियाको मधुवन नगरपालिका–५, रातामाटेकी ३९ वर्षीया वर्षा सुनार आज सफल महिला उद्यमीका रूपमा परिचित हुनुहुन्छ। सीमित शिक्षा, आर्थिक अभाव र सामाजिक चुनौतीका बीच सुरु भएको उहाँको संघर्षपूर्ण यात्रा अहिले आत्मनिर्भरता, उद्यमशीलता र महिला सशक्तीकरणको प्रेरणादायी उदाहरण बनेको छ।
कक्षा ९ सम्म मात्र औपचारिक शिक्षा हासिल गर्नुभएकी वर्षाले सिकाइलाई भने कहिल्यै रोक्नुभएन। उहाँले सीटीईभीटीअन्तर्गत ४५ दिने सिलाई तालिम लिएर लेभल–२ उत्तीर्ण गर्नुभयो। यही सीपले उहाँको जीवनमा नयाँ मोड ल्यायो र व्यवसायिक यात्राको आधार तयार गरिदियो।
उहाँले २०६५/०६६ सालतिर गाउँमै एउटा सानो सिलाई मेसिनबाट व्यवसाय सुरु गर्नुभएको थियो। सुरुआती दिनमा ग्राहक कम थिए, आम्दानी पनि न्यून थियो। तर निरन्तर मेहनत, गुणस्तरीय सेवा र आत्मविश्वासका कारण बिस्तारै गाउँलेहरूको विश्वास जित्दै उहाँको व्यवसाय विस्तार हुँदै गयो।

वर्षौंसम्म गाउँमै सिलाई पसल सञ्चालन गरिरहनुभएकी वर्षाको जीवनमा करिब तीन वर्षअघि एउटा महत्वपूर्ण अवसर आयो। दलित महिलाका लागि उपलब्ध ३५ हजार रुपैयाँ अनुदानले उहाँलाई आर्थिक सहयोगसँगै ठूलो आत्मबल प्रदान गर्यो।
उहाँ भन्नुहुन्छ, “त्यो अनुदानले मलाई आर्थिकभन्दा बढी मानसिक हौसला दियो। अब म अझ ठूलो कदम चाल्न सक्छु भन्ने विश्वास आयो।”
त्यसपछि उहाँले गाउँबाट बजारमा पसल सार्ने निर्णय गर्नुभयो। नयाँ स्थान, बढ्दो प्रतिस्पर्धा र थप लगानीका चुनौतीबीच पनि उहाँ पछि हट्नुभएन। बजारमा व्यवसाय विस्तार गरेसँगै ग्राहक बढे र आम्दानीमा उल्लेखनीय वृद्धि भयो।
हाल उहाँको सिलाई उद्योगमा सातवटा मेसिन सञ्चालनमा छन् भने ४–५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उहाँको मासिक आम्दानी ३० देखि ३५ हजार रुपैयाँसम्म पुग्ने गरेको छ, जसबाट परिवारको सम्पूर्ण खर्च धानिँदै आएको छ।
उहाँ गर्वका साथ भन्नुहुन्छ, “आज मेरो पसलले नै घर चलाएको छ। यही कमाइले मैले छोराछोरीलाई पढाएको छु।”
वर्षाका एक छोरा र एक छोरी काठमाडौंमा अध्ययनरत छन्। छोराछोरीको शिक्षालाई प्राथमिकता दिँदै उहाँले छोरीलाई उच्च अध्ययनका लागि जापान पठाउन पनि सफल हुनुभएको छ। त्यसका लागि आफ्नै कमाइसँगै केही ऋणसमेत लिनुपरेको उहाँ बताउनुहुन्छ। वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका श्रीमानको आम्दानीले ऋण व्यवस्थापनमा सहयोग पुगेको छ।
उहाँ आफ्नो सफलतामा परिवारको साथ र विश्वासलाई महत्वपूर्ण मान्नुहुन्छ।
“यदि परिवारको साथ हुन्छ भने आफूले चाहेको लक्ष्य हासिल गर्न सकिन्छ,” उहाँको भनाइ छ।
व्यवसाय सञ्चालनसँगै वर्षा सुनार विभिन्न नगरपालिका, वडा कार्यालय तथा संघसंस्थाहरूमा सिलाई तालिम प्रशिक्षकका रूपमा समेत सक्रिय हुनुहुन्छ। उहाँले धेरै महिलालाई सीप सिकाएर स्वरोजगार बन्न प्रेरित गरिरहनुभएको छ।
“मैले धेरै जनालाई स्वरोजगार बनाएको छु, यही कुराले मलाई सबैभन्दा बढी खुशी दिन्छ,” उहाँ भन्नुहुन्छ।
आत्मविश्वासलाई नै आफ्नो सबैभन्दा ठूलो शक्ति मान्ने उहाँ चुनौतीसँग कहिल्यै नडराउने बताउनुहुन्छ।
“ममा यति आत्मविश्वास छ कि म कसैबाट पनि डराउँदिन, जुनसुकै चुनौतीको सामना गर्न सक्छु,” उहाँको दृढ भनाइ छ।
वर्षा सुनारको जीवनयात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, सीमित स्रोत, कम शिक्षा र सामाजिक चुनौतीका बाबजुद दृढ इच्छाशक्ति, सीप र निरन्तर मेहनतले सफलता हासिल गर्न सकिन्छ भन्ने सशक्त सन्देश पनि हो।
दलित महिला सशक्तीकरणका कार्यक्रमले अवसर पाए महिलाहरूले आफ्नै जीवन मात्र होइन, समाजको आर्थिक र सामाजिक रूपान्तरणमा समेत महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने उदाहरण वर्षा सुनारले प्रस्तुत गर्नुभएको छ। आज उहाँ आफ्नै परिवारको भरपर्दो आधार मात्र होइन, बर्दियाका सयौं महिलाका लागि प्रेरणाको स्रोत र आत्मनिर्भरताको प्रतीक बन्नुभएको छ।









