बाँके ,२७ असार ।
वैदेशिक रोजगारीप्रति युवाको आकर्षण बढिरहेका बेला बाँकेको कोहलपुर नगरपालिका–२ की ३९ वर्षीया सरिता थापाले भने स्वदेशमै कृषि उद्यमबाट सफलताको उदाहरण प्रस्तुत गर्नुभएको छ। उच्च शिक्षा हासिल गरेपछि जागिरको खोजीमा लाग्ने परम्परागत सोचभन्दा फरक बाटो रोज्दै उहाँले रैथाने कुखुरा पालनलाई व्यवसाय बनाउनु भयो। आज त्यही निर्णयले उहाँलाई आर्थिक रूपमा आत्मनिर्भर मात्र बनाएको छैन, अरूका लागि पनि प्रेरणाको स्रोत बनाएको छ।
सरिता थापाको पारिवारिक पृष्ठभूमि नै कृषिसँग जोडिएको हो। उहाँका ससुरा र श्रीमान् दुवैले कृषि विषयमा उच्च शिक्षा हासिल गर्नुभएको छ। अध्ययन पूरा गरेपछि धेरैले सरकारी जागिर वा वैदेशिक रोजगारी रोज्ने चलन भए पनि थापा परिवारले भने स्वदेशमै कृषि क्षेत्रमा लगानी गर्दै उत्पादनसँग जोडिने निर्णय गर्यो। यही सोच र परिवारको साथले व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन गरेकी सरितालाई कृषि उद्यमतर्फ आकर्षित गर्यो।
उहाँले साढे १३ कट्ठा क्षेत्रफलमा रैथाने जातका कुखुरा पालन सुरु गर्नुभयो। करिब आठ लाख रुपैयाँ लगानीमा २०० चल्लाबाट सुरु भएको फार्म अहिले विस्तार हुँदै करिब डेढ करोड रुपैयाँ लगानीको आधुनिक कृषि उद्यममा परिणत भएको छ।
सरिताका अनुसार रैथाने कुखुरामा रोग प्रतिरोधात्मक क्षमता अन्य जातको तुलनामा बढी हुने भएकाले उत्पादनमा जोखिम कम हुन्छ। प्राकृतिक वातावरणमा हुर्काइने भएकाले मासुको स्वाद र गुणस्तर राम्रो हुने हुँदा बजारमा यसको माग पनि निरन्तर बढिरहेको छ।
फार्मको सबै काम परिवारकै सदस्यले मिलेर गर्ने भएकाले व्यवस्थापन प्रभावकारी बनेको छ। दाना व्यवस्थापनदेखि बजारसम्मको सम्पूर्ण काममा परिवारको सक्रिय सहभागिता रहेको उहाँ बताउनुहुन्छ। यही मेहनतको परिणामस्वरूप अहिले फार्मबाट मासिक करिब तीन लाख रुपैयाँ मुनाफा भइरहेको छ।
सरिताका श्रीमान् हेमन्त थापाका अनुसार फार्ममा उत्पादन हुने रैथाने कुखुराको माग बाँके जिल्लामात्र सीमित छैन। लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट समेत नियमित माग आउने गरेको छ। उत्पादन बढाउँदै लगे पनि बजारको माग पूर्ण रूपमा धान्न अझै चुनौती रहेको उहाँको भनाइ छ।
कृषिलाई परम्परागत पेशा मात्र नभई आधुनिक र सम्मानजनक व्यवसायका रूपमा विकास गर्न सकिने विश्वास सरिता थापाको छ। उहाँका अनुसार ज्ञान, सीप, प्रविधि र निरन्तर मेहनतलाई जोड्न सके कृषि क्षेत्रबाट पनि आकर्षक आम्दानी गर्न सकिन्छ।
स्वदेशमै सम्भावना खोज्ने युवाका लागि सरिता थापाको यात्रा प्रेरणादायी बनेको छ। कृषि क्षेत्रमा लगानी, परिवारको साथ, उचित योजना र निरन्तर परिश्रम भए आत्मनिर्भर बन्न विदेशिनु अनिवार्य छैन भन्ने सन्देश उहाँको सफलताले दिएको छ। उत्पादनमुखी कृषि उद्यमले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउन सक्ने उदाहरणका रूपमा सरिता थापाको रैथाने कुखुरा फार्म स्थापित भएको छ।









