बाँके,२९ असार ।
बाँकेको नरैनापुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा मातृ तथा शिशु स्वास्थ्य, पोषण तथा खोप सेवामा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। गाउँपालिकाअन्तर्गत सञ्चालित ६ वटा स्वास्थ्य संस्थामार्फत प्रदान गरिएका सेवाका कारण मातृ तथा शिशु स्वास्थ्य सूचकमा सकारात्मक सुधार देखिएको गाउँपालिकाको दाबी छ।
गाउँपालिकाका स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाहका अनुसार चालु आर्थिक वर्षमा गर्भवती महिलामध्ये ७० प्रतिशतले कम्तीमा चार पटक गर्भजाँच (फोर एएनसी) सेवा लिएका छन्। यस अवधिमा एक हजार ५६ महिलाले स्वास्थ्य संस्थामार्फत सुरक्षित प्रसूति सेवा प्राप्त गरेका छन् भने प्रसूति पश्चात् चार पटक स्वास्थ्य परीक्षण (फोर पीएनसी) सेवा लिने आमाको संख्या ४१ प्रतिशत पुगेको छ।
खोप सेवातर्फ नवजात शिशुलाई दिइने बीसीजी खोप शतप्रतिशत उपलब्ध गराइएको छ भने जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराउने दर ६८ प्रतिशत पुगेको स्वास्थ्य शाखाले जनाएको छ। पोषण सुधार कार्यक्रमअन्तर्गत मध्यम कुपोषण भएका ७० जना र कडा कुपोषण भएका ९४ जना बालबालिकाको उपचार सम्पन्न गरिएको छ। हाल गाउँपालिकाको जनसंख्या ४० हजार ५२६ रहेको छ।
स्वास्थ्य संयोजक शाहले कुपोषण न्यूनीकरणका लागि गर्भवती तथा सुत्केरी महिलाको नियमित स्वास्थ्य परीक्षण, जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान, समयमै पोषणयुक्त पूरक आहारको सुरुवात, सन्तुलित भोजन, नियमित खोप तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। आगामी दिनमा प्रयोगशाला सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा, पोषण कार्यक्रम तथा अन्य आधारभूत स्वास्थ्य सेवाको दायरा विस्तार गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने उनले बताए।
प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले स्वास्थ्य सेवा प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउन आवश्यक जनशक्ति व्यवस्थापन, औषधिको नियमित आपूर्ति तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताए। स्वास्थ्य क्षेत्रमा हासिल उपलब्धिलाई संस्थागत गर्दै सेवाको गुणस्तर थप अभिवृद्धि गर्न गाउँपालिका निरन्तर सक्रिय रहेको उनको भनाइ छ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइएको उल्लेख गर्दै आगामी आर्थिक वर्षदेखि निर्माण सम्पन्न नरैनापुर अस्पताल सञ्चालनमा ल्याइने जानकारी दिए। अस्पताल सञ्चालनमा आएपछि स्थानीयले गाउँपालिकामै गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्दै उनले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धिका लागि आवश्यक स्रोत, साधन तथा जनशक्ति व्यवस्थापनमा गाउँपालिका निरन्तर लागिरहेको बताए।









