मुगु, ११ साउन ।
मुगु जिल्ला अदालतमा गएको आर्थिक वर्ष २०८२।०८३ मा अठहत्तर प्रतिशत मुद्दा फर्स्योट भएका छन् । जिम्मेवारी सरेर आएका र आर्थिक वर्ष ०८१/०८२ मा दर्ता भएका गरी असार महिना सम्म अठहत्तर प्रतिशत मुद्दा फर्स्योट भएका हुन् ।
मुगु जिल्ला अदालतका तहसिलदार प्रेमराज खनियाका अनुसार सम्बन्ध विच्छेद मुद्दा २९, जबरजस्ती २८, वैकिङ्ग कसुर ९, लागुऔषध २,बहुविवाह १, अभद्र व्यावहार ८, घरेलुहिँसा १, हाल सम्म जम्मा १०५ थान मुद्दा जिल्ला अदालत मुगुमा दर्ता भएका छन् ।
खनियाका अनुसार असारको अन्तिम साता सम्म जम्मा ८२ वटा मुद्दा फर्स्योट भएका छन् । मुगु जिल्ला अदालतमा अब भने २३ थान मुद्दा मात्र फैसला हुन बाँकी रहेको जनाइएको छ । गत वर्षका केही थान मुद्दा सरेकोले यो आर्थिक वर्षमा फर्स्योट हुन बाँकी धेरै देखिएको जिल्ला अदालत मुगुले जनाएको छ ।
भौगोलिक विकटता, सञ्चार माध्यमको कम पहुँच, कम जनशक्तिको अभावबीच पनि अठहत्तर प्रतिशत मुद्दा फर्स्योट गर्न सफल भएको तहसिलदार अधिकारीले बताए । बाँकी रहेका २३ थान मुद्दा आउने आर्थिक वर्षको कार्तिक महिना सम्म मुद्दा फछ्र्यौट हुने गरि काम सम्पादन भएको उनले बताए ।
गएको आर्थिक वर्षको असार महिना सम्म जिल्ला अदालत मुगुको वैतनिक वकिलको सहजिकरणमा जबरजस्ती करणी, कर्तव्य ज्यान मार्ने उद्योग, बहुविवाह र लागुऔषध सम्बन्धी गरि जम्मा चार थान मुद्दा वैतनी वकिल शाखाले जिल्ला अदालत मुगुमा मुद्दा दर्ता र फैसला बहस गर्नमा सहजिकरण गरेको तहसिलदार अधिकारी प्रेमराज खनियाले जानकारी दिए ।
त्यसैगरी यता जिल्ला कानुनी सहायता समिति मुगुले गएको आर्थिक वर्षमा ५० जनालाई कानुनी परामर्श दिएको तथ्याङ्कमा उल्लेख रहेको छ । जिल्ला कानुनी सहायता समिति मुगुका वकिल प्रशान्त शाहीका अनुसार गएको आर्थिकमा जम्मा १० वटा मुद्दामा सहजीकरण भएको छ ।उक्त मुद्दामा सात वटा फछ्र्यौट भएका छन् ।
भौगोलिक कठिनाइ र सञ्चार माध्यमको पहुँच, विद्युत आपुर्ति र नियमित सूचना प्रविधि सेवामा असुविधाका कारण मुगुमा म्याद तामेली समयमै गर्न समस्या हुने गरेको छ । आर्थिक वर्ष ०८२/०८३ मा मुगुमा सबैभन्दा बढी २९ जनाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेका छन् ।









