बाँके ,१६ साउन ।
खेतीपातीको मुख्य समयमा पनि रासायनिक मलको अभाव नहट्दा बाँकेका किसानले यस वर्ष पनि सास्ती खेप्नुपरेको छ। धान गोड्ने महत्वपूर्ण समयमा पर्याप्त मल उपलब्ध नभएपछि किसानहरू बिहानैदेखि सहकारीको गेटमा लामो लाइन बस्न बाध्य भएका छन्।
कोहलपुरको साझा चोकस्थित कोहलपुर सहकारी संस्था लिमिटेडमा बिहीबार बिहानैदेखि ठूलो संख्यामा किसानहरू रासायनिक मल लिन पुगेका थिए। तर मलको आपूर्ति सीमित हुँदा धेरै किसानले घण्टौँ लाइन बसेर पनि खाली हात फर्किनुपरेको गुनासो गरेका छन्।
कोहलपुर–४ का किसान नरेश यादवले हरेक वर्ष खेतीको समयमा रासायनिक मलको अभाव दोहोरिने गरे पनि यसको स्थायी समाधान हुन नसकेको बताउनुभयो। यस वर्ष वितरण प्रणाली सुधार हुने र सहज रूपमा मल पाइने अपेक्षा गरिए पनि अवस्था फेरि उस्तै रहेको उहाँको भनाइ छ।
यस्तै, कोहलपुर–१२ का किसान सागर थारुले बिहानैदेखि लाइनमा बसे पनि मल नपाएर फर्किनुपरेको दुखेसो गर्नुभयो। धान गोड्ने महत्वपूर्ण समयमा आवश्यक मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ताले सताएको उहाँले बताउनुभयो। समयमै मल प्रयोग गर्न नसके धानबालीको वृद्धि र उत्पादन दुवै प्रभावित हुने भएकाले सरकारले तत्काल पर्याप्त मलको व्यवस्था गर्नुपर्ने उहाँको माग छ।
डुडुवा गाउँपालिका–३ का किसान रमेश मौर्यले हरेक वर्ष एउटै समस्या दोहोरिँदा किसानले खेतीभन्दा बढी समय मलको खोजीमै खर्चिनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो। उहाँले समयमै मल उपलब्ध नहुँदा खेतीको लागत बढ्ने र उत्पादनमा समेत नकारात्मक असर पर्ने धारणा राख्नुभयो।
कोहलपुर सहकारी संस्था लिमिटेडका व्यवस्थापक जुल्फिकार अलीका अनुसार कृषि सामग्री कम्पनीबाट ५०–५० केजीका ४२० बोरी युरिया र ९२ बोरी डीएपी मल प्राप्त भएको थियो। तर मल लिन आउने किसानको संख्या दुई हजारभन्दा बढी भएकाले मागअनुसार वितरण गर्न कठिन भएको उहाँले बताउनुभयो।
उहाँका अनुसार बिहीबार करिब १५० जना किसानलाई २५–२५ केजीका एक–एक बोरा युरिया वितरण गरिएको छ भने थप २०० जनालाई कुपन उपलब्ध गराएर पछि मल लिन आउन आग्रह गरिएको छ। आएको मलको परिमाणभन्दा माग अत्यधिक भएकाले वितरणमा समस्या भएको व्यवस्थापक अलीले बताउनुभयो।
कृषि सामग्री कम्पनी लिमिटेड, बाँकेका निमित्त शाखा प्रबन्धक लालबहादुर थारुले जिल्लाका किसानलाई आवश्यक पर्ने लक्ष्यअनुसार रासायनिक मल प्राप्त हुन नसक्दा अभाव देखिएको बताउनुभयो।
उहाँका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा कम्पनीमार्फत बाँकेमा ४ हजार ८२२ मेट्रिक टन युरिया, २ हजार ६३३ मेट्रिक टन डीएपी र २०७ मेट्रिक टन पोटास बिक्री गरिएको थियो। चालु आर्थिक वर्ष २०८३/०८४ मा हालसम्म ८५९ मेट्रिक टन युरिया, १९९ मेट्रिक टन डीएपी र १३ मेट्रिक टन पोटास विभिन्न स्थानीय तहमा पठाइसकिएको उहाँले जानकारी दिनुभयो।
खेतीको अत्यन्त संवेदनशील समयमा पनि रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा बाँकेका किसान चिन्तित बनेका छन्। किसानहरूले हरेक वर्ष दोहोरिने मल अभावको समस्या समाधान गर्न आपूर्ति र वितरण प्रणालीलाई प्रभावकारी बनाउँदै समयमै पर्याप्त मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।









