सुनसरी–सिराहा घटनापछि बाँकेमा सद्भाव र्‍याली, शान्ति र राष्ट्रिय एकताको सन्देश

  • नमस्ते कर्णाली

  • बाँके ,१७ साउन ।

    सुनसरी र सिराहामा भएका पछिल्ला घटनापछि देशभर शान्ति, सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले बाँकेको नेपालगञ्जमा शनिबार बिहान सद्भाव र्‍याली आयोजना गरिएको छ।
    जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा आयोजित र्‍यालीमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, धार्मिक अगुवा, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
    शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वासलाई थप सुदृढ बनाउन सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शनिबार बिहान वीपी चोकदेखि वीरेन्द्र चोकसम्म र्‍याली निकालिएको हो।
    र्‍यालीका सहभागीहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्ष जिम्मेवार, संयमित र सचेत हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले कुनै पनि प्रकारका अफवाह, उत्तेजनात्मक गतिविधि तथा सामाजिक सद्भाव खलबल्याउने प्रयासप्रति सचेत रहन सबैलाई आग्रह गरेका थिए।
    बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सुनसरी र सिराहाका घटनापछि समाजमा शान्ति, सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले र्‍याली आयोजना गरिएको बताउनुभयो। उहाँले कुनै पनि घटना वा अपुष्ट सूचनाका आधारमा भ्रममा नपर्न र सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै सत्यतथ्यमा आधारित सूचनामात्र विश्वास गर्न अनुरोध गर्नुभयो।
    प्रमुख जिल्ला अधिकारी तामाङले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण समुदायबीच आपसी समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले बाँकेमा कायम रहेको सामाजिक सद्भाव र सहिष्णुताको वातावरणलाई अझ सुदृढ बनाउन सबै पक्षले सकारात्मक र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

  • १७ श्रावण २०८३, आईतवार ०९:३२ प्रकाशित

  • Nabintech