कोहलपुर उद्योग वाणिज्य संघको आयोजना तथा गुणस्तर तथा नापतौल कार्यालय, बाँकेको सहकार्यमा सञ्चालित नापतौलका यन्त्र दर्ता तथा नवीकरण शिविरमा दुई दिनमै ६५ वटा व्यवसायिक फर्मले सेवा लिएका छन् ।
व्यवसायीहरूलाई नापतौलका यन्त्र तथा सामग्रीको दर्ता र नवीकरणका लागि सहज वातावरण सिर्जना गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। शिविरमा व्यवसायिक फर्महरूले प्रयोग गर्दै आएका नापतौलका यन्त्र तथा सामग्रीको दर्ता, नवीकरणलगायतका सेवा प्रदान गरिएको छ ।
कोहलपुर उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर भण्डारीका अनुसार शिविरको दोस्रो दिनसम्म ६५ वटा व्यवसायिक फर्मले सेवा लिएका छन् ।
उहाँले अझै नापतौलका सामग्री दर्ता तथा नवीकरण गर्न बाँकी रहेका व्यवसायिक फर्महरूलाई समयमै आफ्ना नापतौलका सामग्री नवीकरण गराउन आग्रह गर्नुभएको छ । समयमै नवीकरण नगरे अनुगमनका क्रममा समस्या आउन सक्ने भएकाले सम्बन्धित व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गर्न उहाँले अनुरोध गर्नुभएको छ।
शिविरले व्यवसायीहरूलाई नापतौलसम्बन्धी कानुनी प्रक्रिया पूरा गर्न सहज हुनुका साथै कार्यालयसम्म धाउनुपर्ने झन्झटसमेत कम गरेको संघका अध्यक्ष प्रदीप भट्टराईले बताउनुभयो । उहाँले, कोहलपुर उद्योग वाणिज्य संघले नापतौलका यन्त्र तथा सामग्री प्रयोग गर्ने सबै व्यवसायिक फर्मलाई शिविर मार्फत अवसरको सदुपयोग गर्दै समयमै दर्ता तथा नवीकरण गराउन आग्रह समेत गर्नुभएको छ।









