पक्की छेकबारले घटाउँदै बर्दियामा मानव–वन्यजन्तु द्वन्द्व

  • नमस्ते कर्णाली

  • बर्दिया ,२९ साउन ।
    बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्कने हात्ती, बाघलगायत वन्यजन्तु बस्तीमा पस्ने र अन्नबालीमा क्षति पुर्‍याउने समस्या न्यूनीकरण गर्न ठाकुरबाबा नगरपालिकामा पक्की छेकबारसहितको नहर निर्माण गरिएको छ। बबई सिँचाइ आयोजनाले सिँचाइ सुविधा विस्तारसँगै वन्यजन्तु रोक्ने उद्देश्यले पक्की नहरको संरचनालाई छेकबारका रूपमा विकास गरेको हो।
    ठाकुरबाबा नगरपालिका–१ डुम्रेनीमा करिब ८ सय ८ मिटर लामो पक्की नहर तथा छेकबार २० करोड ५९ लाख ९८ हजार रुपैयाँको लागतमा निर्माण गरिएको बबई सिँचाइ आयोजना प्रमुख गोपाल शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार नहरले डुम्रेनी क्षेत्रका किसानलाई सिँचाइ सुविधा पुर्‍याउनुका साथै निकुञ्जबाट बस्तीमा प्रवेश गर्ने वन्यजन्तुको जोखिमसमेत घटाएको छ।
    “पक्की नहर निर्माणसँगै वन्यजन्तुको छेकबार पनि भएको छ,” शर्माले भन्नुभयो, “यसले सिँचाइ सुविधा विस्तारसँगै वन्यजन्तुबाट हुने क्षति रोक्न सहयोग पुगेको छ।”
    नहर निर्माणपछि निकुञ्जबाट निस्कने हात्ती, बाघलगायत वन्यजन्तु बस्तीमा पस्ने क्रम घटेको स्थानीय नैन कामीले बताउनुभयो। पक्की छेकबार नहुँदा जुनसुकै बेला वन्यजन्तु बस्तीमा पस्ने त्रास रहने गरेकोमा अहिले जोखिम कम भएको उहाँको भनाइ छ।
    ठाकुरबाबा नगरपालिका बर्दिया राष्ट्रिय निकुञ्जसँग करिब ३२ किलोमिटर क्षेत्र जोडिएको छ। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नगरपालिकाले गत असारमा करिब १५ किलोमिटर पक्की वन्यजन्तु छेकबार निर्माण सम्पन्न गरेको नगर प्रमुख तिलक लम्सालले बताउनुभयो।
    उहाँका अनुसार छेकबार निर्माणपछि हात्ती, मृग, बँदेललगायत वन्यजन्तु बस्तीमा प्रवेश गर्ने क्रम घटेको छ। छेकबार निर्माणका लागि संघीय सरकारको समपूरक तथा विशेष अनुदान, प्रदेश सरकारको अनुदान र नगरपालिकाको आन्तरिक स्रोत परिचालन गरिएको छ। करिब १५ किलोमिटर छेकबार निर्माणमा ३० करोड रुपैयाँभन्दा बढी खर्च भएको नगरपालिकाले जनाएको छ।
    तर, पक्की छेकबार नभएका क्षेत्रमा भने वन्यजन्तुको जोखिम अझै कायम छ। निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत विभिन्न निकाय तथा दातृ संस्थाको सहयोगमा करिब १६ वर्षदेखि हालसम्म झण्डै ६५ किलोमिटर विद्युतीय तार तथा जाली लगाइएको छ। विद्युतीय तारले वन्यजन्तुलाई रोक्ने भए पनि हात्तीले सुख्खा मुढा वा रुखका हाँगा तारमाथि खसाल्दा फेन्सिङमा क्षति पुग्ने र वन्यजन्तु बाहिर निस्कने समस्या देखिँदै आएको छ।
    राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फाहाम्फेका अनुसार नियमित अनुगमन र मर्मतसम्भार नहुँदा कतिपय स्थानमा फेन्सिङ कमजोर हुने गरेको छ। क्षतिको जानकारी प्राप्त हुनासाथ मर्मतसम्भार गर्ने गरिएको उहाँले बताउनुभयो।
    पक्की छेकबार निर्माण भएका क्षेत्रमा वन्यजन्तुबाट मानवीय तथा अन्नबालीमा क्षति नभएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ। यसले वन्यजन्तुको जोखिम घटाउनुका साथै किसानलाई खेतीपातीमा सुरक्षित वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ।

  • २९ श्रावण २०८३, शुक्रबार ०९:५० प्रकाशित

  • Nabintech