धुमैया जलाधारमा पर्यटनको चहलपहल, संरक्षणसँगै बढ्दै रोजगारीको अवसर

  • नमस्ते कर्णाली

  • बाँके,४ भदौ ।
    हरियाली जंगलले घेरिएको प्राकृतिक ताल, कलकल बग्ने खोला र शीतल वातावरण । प्रकृतिसँग रमाउन चाहनेका लागि बाँकेको राप्तीसोनारी गाउँपालिका–५ स्थित धुमैया जलाधार क्षेत्र यतिबेला आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्धनलाई जोड दिएर निर्माण गरिएको धुमैया जलाधार पार्कमा पछिल्लो समय घुमफिर र वनभोजका लागि आउने पर्यटकको संख्या बढ्न थालेको छ ।
    प्राकृतिक ताल, पानीका मुहान, खोलानाला र हरियाली वन क्षेत्रको संरक्षण गर्दै निर्माण गरिएको पार्कले जैविक विविधता संरक्षणमा योगदान पुर्‍याउनुका साथै स्थानीय बासिन्दाका लागि रोजगारी र आयआर्जनका नयाँ अवसरसमेत सिर्जना गर्न थालेको छ ।
    प्राकृतिक सौन्दर्यलाई जोगाउँदै पर्यटनसँग जोड्ने उद्देश्यले सिद्धेश्वरी सामुदायिक वन उपभोक्ता समूहको सहभागितामा धुमैया जलाधार पार्क निर्माण गरिएको हो । पार्कमा रहेका प्राकृतिक ताल तथा पानीका मुहानको संरक्षण गरिएको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले ढुंगेधारा, टी–हाउस, बाघको प्रतिमालगायतका संरचना निर्माण गरिएपछि क्षेत्रको आकर्षण थप बढेको छ ।
    सिद्धेश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सबिन पुन मगरका अनुसार धुमैया जलाधार पार्क निर्माणको अभियान २०८० सालबाट सुरु गरिएको हो । सामुदायिक वनको करिब सात लाख रुपैयाँ लगानीबाट सुरु भएको पार्क निर्माण अभियानमा पछिल्लो समय राप्तीसोनारी गाउँपालिका, पर्यटन कार्यालय कोहलपुर तथा सम्बर्द्धन परियोजनालगायतबाट सहयोग प्राप्त भएपछि पूर्वाधार निर्माण र संरक्षणका गतिविधिले गति लिएका छन् ।
    पार्क निर्माणसँगै सामुदायिक वन संरक्षणमा स्थानीय उपभोक्ताको सहभागिता पनि बढ्दै गएको छ । वन संरक्षणसँगै पर्यटकको आवागमन बढेपछि स्थानीयस्तरमा साना व्यवसाय सञ्चालन, रोजगारी तथा आयआर्जनका सम्भावना विस्तार हुन थालेका छन् ।
    सामुदायिक वन उपभोक्ता समूहकी सचिव निमकला बस्नेतका अनुसार पार्क निर्माणमा यहाँको जैविक विविधतालाई मुख्य आधार बनाइएको छ । वन, पानीका मुहान, प्राकृतिक ताल तथा खोलाको संरक्षण गर्दै वातावरणमैत्री पर्यटकीय गतिविधिलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
    पार्कमा राखिएको बाघको प्रतिमा, टी–हाउस र ढुंगेधारा पर्यटकका मुख्य आकर्षण बनेका छन् । आगन्तुकको सहजताका लागि शुद्ध खानेपानीको समेत व्यवस्था गरिएको छ । प्राकृतिक वातावरणमा केही समय बिताउन, वनभोज गर्न तथा परिवार र साथीभाइसँग घुमफिर गर्न चाहनेका लागि धुमैया जलाधार क्षेत्र उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको स्थानीय बताउँछन् ।
    स्थानीय पर्यटक रामबहादुर भण्डारीका अनुसार प्राकृतिक वातावरण र शान्त परिवेशका कारण धुमैया जलाधारमा आउनेको आकर्षण बढेको छ । पार्कमा थप पूर्वाधार निर्माण र प्रचारप्रसार गर्न सके बाह्य तथा आन्तरिक पर्यटकको संख्या अझ बढ्न सक्ने उहाँको भनाइ छ ।
    राप्तीसोनारी क्षेत्र वन, नदी, ताल तथा जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिन्छ । प्राकृतिक सम्पदालाई विनाश नगरी संरक्षण गर्दै पर्यटनसँग जोड्न सके स्थानीयस्तरमै रोजगारी सिर्जना हुनुका साथै सामुदायिक वनको आम्दानीसमेत बढाउन सकिने सम्भावना देखिएको छ ।
    स्थानीय तह र सम्बन्धित निकायको थप सहयोग, पर्याप्त प्रचारप्रसार, व्यवस्थित पूर्वाधार तथा नियमित संरक्षण हुन सके धुमैया जलाधार क्षेत्र राप्तीसोनारी गाउँपालिकाको मात्रै नभई बाँकेकै आकर्षक नयाँ पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ ।
    प्रकृतिको संरक्षण, समुदायको सहभागिता र पर्यटन प्रवर्धनलाई सँगसँगै अघि बढाउने प्रयासका रूपमा विकसित हुँदै गएको धुमैया जलाधार पार्कले स्थानीयस्तरमा नयाँ आशा पनि जगाएको छ । हरियाली जंगलभित्रको प्राकृतिक सौन्दर्यलाई संरक्षण गर्दै पर्यटनको ढोका खोलिरहेको यो क्षेत्र आगामी दिनमा प्रकृति प्रेमी र पर्यटकका लागि रोजाइको गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

  • ४ भाद्र २०८३, बिहीबार ०९:१० प्रकाशित

  • Nabintech