रसुवाको बाढीमा १५० शव फेला, २८ प्रहरी सम्पर्कविहीन

  • नमस्ते कर्णाली

  • काठमाडौं ,११ भदौ ।

    रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो मानवीय क्षति भएको छ।
    बुधबार राति ११ः०५ बजेसम्मको प्रहरी विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लामा हालसम्म १५० जनाको शव फेला परेको छ भने ४५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
    प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २८, चितवनमा ६४, गोरखामा ११, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ। बाढीले नदी आसपासका बस्ती तथा संरचनामा ठूलो क्षति पुर्‍याएपछि बेपत्ता तथा प्रभावितको खोजी कार्यसमेत जारी छ।
    बाढीपछि उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि ठूलो संख्यामा सेना र प्रहरी परिचालन गरिएको छ। पछिल्लो विवरणअनुसार ३ हजार ३ सय ३१ जना प्रहरी उद्धार तथा खोजी कार्यमा खटिएका छन्। त्यति नै संख्या सेना पनि खटिएको छ ।
    यसैबीच बाढीका क्रममा विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन्। इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना प्रहरी सम्पर्कमा आएका छन्। रसुवागढी प्रहरी चौकीमा कार्यरत ९ जनामध्ये १ जना, स्याफ्रुबेसी प्रहरी चौकीका ८ जनामध्ये ५ जना, मैलुङका ८ जनामध्ये ३ जना, बेत्रावती प्रहरी चौकीका १० जनामध्ये ९ जना र हाकु प्रहरी चौकीका ६ जनामध्ये ५ जना सम्पर्कमा आएका छन्।
    बाढीबाट घाइते भएका ४५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा २० जना, ट्रमा सेन्टरमा ८ जना, वीर अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पतालमा ९ जना, ग्रिन सिटी अस्पतालमा १ जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा १ जना उपचाररत रहेको विवरणमा उल्लेख छ।
    बाढीपछि प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोज तथा उद्धारलाई तीव्रता दिएका छन्। नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा अझै जोखिम कायमै रहेकाले सुरक्षाकर्मी र स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
    बाढीका कारण रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेसीलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले सडक, पुल, घर तथा विभिन्न भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ। क्षतिको विस्तृत विवरण संकलन तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या अझै बढ्न सक्ने देखिएको छ।
    सेना तथा प्रहरीले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत वितरणलाई निरन्तरता दिएका छन्।

     

     

     

     

     

     

  • ११ भाद्र २०८३, बिहीबार ०६:१८ प्रकाशित

  • Nabintech