भोटेकोशी बाढीपीडितका लागि बाँकेबाट सहयोग संकलन जारी, बेहनाद्वारा डेढ लाख बढी सहयोग

  • नमस्ते कर्णाली

  • बाँके ,१४ भदौ ।
    भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट मानवीय सहयोग जुट्न थालेको छ। व्यक्तिगत तथा सामुदायिक रूपमा बाढीपीडितका लागि सहयोग संकलन हुन थालेपछि विपद्को समयमा राष्ट्रिय एकता र सामाजिक सद्भावको भावना थप बलियो बनेको देखिएको छ।
    नेपालगञ्ज उपमहानगरपालिका–४ का पूर्ववडा अध्यक्ष मोहम्मद सफिक बेहनाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ५१ हजार एक सय रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँले सहयोग रकम जम्मा गरेको भौचर बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई हस्तान्तरण गर्नुभएको हो।
    सहयोग हस्तान्तरण गर्दै बेहनाले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। उहाँले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।
    विपद्को यस घडीमा राज्यसँगै नागरिक पनि पीडितको साथमा उभिनुपर्ने बताउँदै बेहनाले नेपालका मुस्लिम समुदायलाई एकताबद्ध भएर बाढी प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न आह्वान गर्नुभयो।
    सहयोग रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी तामाङले विपद्का बेला प्राप्त सहयोगले पीडित नागरिकको पीडामा मल्हम लगाउने बताउनुभयो। उहाँले सहयोगको रकमभन्दा त्यससँग जोडिएको मानवीय भावना अझ महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
    प्रजिअ तामाङले बेहनाले यसअघि कोरोना महामारीका समयमा अक्सिजन अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले दुई लाख रुपैयाँ सहयोग गर्नुका साथै गरिब तथा विपन्न परिवारलाई खाद्यान्नसमेत उपलब्ध गराउनुभएको स्मरण गर्नुभयो।
    यसैगरी, लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएका राजा खान नेपालगञ्जले पनि प्रमुख जिल्ला अधिकारी तामाङमार्फत भोटेकोशी बाढीपीडितका लागि एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ।
    यसैबीच, नेपालगञ्जका विभिन्न मस्जिदमा शुक्रबार बाढीपीडितका लागि सहयोग रकम संकलन गरिएको छ। मुस्लिम अगुवा तथा जामा मस्जिदका पूर्वअध्यक्ष हाजी अब्दुल रहमान मियाँका अनुसार विभिन्न मस्जिदबाट एक लाख ९८ हजार पाँच सय १३ रुपैयाँ संकलन भएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न प्रमुख जिल्ला अधिकारी तामाङलाई बुझाउने तयारी गरिएको छ।
    प्रमुख जिल्ला अधिकारी तामाङले विपद्को समयमा गरिएको सानोभन्दा सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो अर्थ राख्ने बताउँदै सक्षम व्यक्ति, संस्था तथा समुदायलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार उद्धार, राहत तथा पुनःस्थापनाको अभियानमा जोडिन आग्रह गर्नुभयो।
    भोटेकोशी बाढीपीडितका लागि बाँकेबाट व्यक्तिगत तथा सामुदायिक रूपमा सहयोग जुट्न थालेसँगै विपद्को समयमा मानवीय सहयोग, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना थप मजबुत बन्दै गएको छ।

  • १४ भाद्र २०८३, आईतवार ०९:३९ प्रकाशित

  • Nabintech