बाँके ,१८ भदौ।
रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट घाइते भएकाहरूको उपचारका क्रममा आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। सञ्चारिका समूह बाँके शाखाको आयोजना र सन्चारिका समूह बाँकेकि अध्यक्ष पबित्रा परियारको अध्यक्षतामा भएको कार्यक्रममा ३५ जना रक्तदाताले रक्तदान गरेका छन्।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा बाँके र रक्तसञ्चार केन्द्र बाँकेको सहकार्य तथा समन्वय रहेको थियो। रक्तसञ्चार केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महत्तरा लगायतको टोलीले रक्त सङ्कलन तथा व्यवस्थापनमा सहजीकरण गरेको थियो।

रक्तदानसँगै ‘विपद्को समयमा सञ्चारकर्मीको भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रमसमेत गरिएको थियो। रसुवा बाढीबाट घाइते तथा प्रभावित नागरिकको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि आवश्यक सूचना प्रवाह गर्न सञ्चारकर्मीको भूमिका अझ जिम्मेवार र संवेदनशील हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले विपद्का समयमा समाचार सम्प्रेषणसँगै सूचनाका माध्यमबाट मानवीय जीवन बचाउने कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले विपद्को समयमा गलत सूचना र अफवाह फैलिन नदिन पत्रकारहरू थप सचेत हुनुपर्ने बताउनुभयो।
उहाँले विपद् प्रभावित क्षेत्रमा स्थानीय तह, सुरक्षा निकाय, प्रशासन, रेडक्रस लगायतका सरोकारवाला निकायसँग सञ्चारकर्मीले प्रभावकारी समन्वय गर्नुपर्ने बताउनुभयो। ‘विपद्मा पहिलो प्राथमिकता ज्यान जोगाउनु हो, त्यसका लागि सही सूचना समयमै प्रवाह गर्नु पत्रकारिताको महत्वपूर्ण जिम्मेवारी हो’ भन्ने उहाँको जोड थियो।
कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले सञ्चारकर्मीप्रति समाजको दृष्टिकोण सकारात्मक हुने भएकाले विपद्को समयमा अझ जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो। रसुवा बाढीका कारण कोहलपुरसमेत प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख गर्दै उहाँले नगरपालिकाले विपद् प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नुका साथै बाढीमा ज्यान गुमाएका कोहलपुरका नागरिकका परिवारलाई समेत सहयोग गरिरहेको जानकारी दिनुभयो।

नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाहले महासंघ विपद् कोषमा सहयोगका लागि रकम जम्मा गरिएको जानकारी दिँदै पत्रकार तथा सञ्चारकर्मीहरू विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न अग्रसर हुनुपर्ने बताउनुभयो।
नेपाल पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष डिलप्रसाद गौतमले सञ्चारकर्मीहरू पूर्वसूचना प्रणालीसँग जोडिनुपर्नेमा जोड दिनुभयो। विपद् आउनुअघि नै सम्भावित जोखिम, पूर्वतयारी र उद्धारसम्बन्धी सूचना नागरिकसम्म पुर्याउन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उहाँले बताउनुभयो।
सञ्चारिका समूह बाँकेकी संस्थापक अध्यक्ष अक्षरी पोखरेलले विपद्को समयमा सञ्चारकर्मीहरूको भूमिका सामान्य अवस्थाभन्दा झनै महत्वपूर्ण हुने बताउनुभयो। प्रभावितको आवाज राज्य र सम्बन्धित निकायसम्म पुर्याउनेदेखि राहत, उद्धार र पुनःस्थापनाका विषयमा निरन्तर खबरदारी गर्नुपर्ने उहाँको भनाइ थियो।
प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीले विपद्का समयमा सबैभन्दा पहिले सञ्चारकर्मी स्वयं सुरक्षित रहनुपर्ने बताउनुभयो। सुरक्षित भएर आफ्नो पेशागत जिम्मेवारी पूरा गर्नु पत्रकारको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै उहाँले राज्य तथा राज्यका निकायले गरेका सकारात्मक कामलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रचारप्रसार गर्नुपर्ने र कमजोरी भएमा खबरदारीसमेत गर्नुपर्ने बताउनुभयो।
सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजन कोहलपुरका प्रमुख विजय बर्माले विपद्का समयमा पत्रकारको भूमिका र खबरदारी अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। विपद्सम्बन्धी समाचार लेखन तथा प्रसारण गर्दा विषयको संवेदनशीलतालाई ध्यानमा राखी तथ्यमा आधारित र जिम्मेवार पत्रकारिता गर्न उहाँले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो।
राष्ट्रिय युवा संघका पूर्वकेन्द्रीय सचिव खेमराज शर्माले रक्तदान कार्यक्रम निकै सराहनीय रहेको बताउँदै विपद्का बेला पत्रकारले संवेदनशील भएर भिडियो तथा समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने बताउनुभयो। विपद्बाट पीडित परिवारको उद्धार, राहत र उचित व्यवस्थापनका लागि सञ्चारकर्मीले आगामी दिनमा पनि आफ्ना कलमलाई निरन्तर अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो। सरकारले गरेका राम्रा कामको प्रशंसा गर्ने र कमजोरी भएमा खबरदारी गर्ने दुवै भूमिका पत्रकारले निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो।
अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मी पुष्पराज हमाल, कपिल अञ्जान, शुभाकर विश्वकर्मा, रवि रोकाय लगायतले विपद्को समयमा सञ्चारमाध्यमको भूमिका, सूचना सम्प्रेषण, पूर्वसूचना प्रणाली तथा प्रभावित नागरिकका सवालमा आफ्ना धारणा राख्नुभएको थियो।

रक्तदान कार्यक्रममा पूर्वप्रतिनिधिसभा सदस्य सूर्य ढकाल, नियमित रक्तदाता संघका संयोजक बलबहादुर खड्का, नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कृष्ण ओली, महिला नेतृ नारायणी वली, समाजसेवी भुम भण्डारी, सञ्चारकर्मी राजेश आचार्य, स्मृति देवकोटा, प्रमिला विश्वकर्मा तथा जिल्ला ट्राफिक कार्यालयका धमेन्द्र रोकाय लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमले रसुवा बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारमा आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पुर्याउनुका साथै विपद्को समयमा सञ्चारकर्मीले निर्वाह गर्नुपर्ने मानवीय, सामाजिक र पेशागत जिम्मेवारीबारे साझा धारणा निर्माण गर्ने उद्देश्यसमेत पूरा गरेको आयोजकले जनाएको छ।










