भेरी अस्पतालमा शल्यक्रिया सेवा बढ्दो, दुई वर्षमा ५८ प्रतिशतले वृद्धि

  • नमस्ते कर्णाली

  • बाँके ,२१ भदौ ।
    पश्चिम नेपालका तीनवटा प्रदेशका बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। अस्पतालको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदनले पछिल्ला तीन वर्षमा शल्यक्रियाको संख्या निरन्तर बढ्दै गएको देखाएको हो।
    प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा ३ हजार २६३ वटा शल्यक्रिया भएकोमा २०८१/०८२ मा बढेर ३ हजार ७८८ र २०८२/०८३ मा ५ हजार १७२ वटा शल्यक्रिया गरिएको छ। पछिल्लो एक वर्षमै शल्यक्रियाको संख्या १ हजार ३८४ ले बढेको हो।
    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा शल्यक्रिया सेवामा ३६ दशमलव ५ प्रतिशत वृद्धि भएको बताउनुभयो। उहाँका अनुसार शल्यक्रिया सेवा विस्तार भएसँगै उपचारका लागि लामो समय पर्खिनुपर्ने बिरामीको संख्या पनि घट्दै गएको छ।
    तीन वर्षको अवधिलाई हेर्दा भेरी अस्पतालमा हुने शल्यक्रिया सेवा करिब ५८ प्रतिशतले वृद्धि भएको छ। अस्पतालले शल्यक्रियालाई ठूलो, मध्यम र सामान्य गरी तीन वर्गमा विभाजन गरेर सेवा दिँदै आएको छ।
    अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ४८१ वटा ठूलो शल्यक्रिया गरिएकोमा २०८२/०८३ मा यो संख्या बढेर ३ हजार ८९४ पुगेको छ। दुई वर्षको अवधिमा ठूलो शल्यक्रिया मात्रै १ हजार ४१३ ले बढेको हो।
    त्यस्तै, मध्यम शल्यक्रिया ३६६ बाट बढेर ४३४ पुगेको छ भने सामान्य शल्यक्रिया ४१६ बाट बढेर ८४४ पुगेको छ। सामान्य शल्यक्रियाको संख्या दुई वर्षको अवधिमा दोब्बरभन्दा बढी भएको देखिन्छ।
    अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डा. डक्टप्रसाद धितालले शल्यक्रिया कक्षको संख्या वृद्धि हुनुका साथै आवश्यक जनशक्ति र उपकरण थपिँदै गएपछि सेवा विस्तार भएको बताउनुभयो। सेवा क्षमता बढेसँगै शल्यक्रिया गराउन आउने बिरामीको संख्या पनि बढेको उहाँको भनाइ छ।
    भेरी अस्पतालमा शल्यक्रिया सेवा विस्तार हुँदै जानुले पश्चिम नेपालका बिरामीलाई जटिल उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • २१ भाद्र २०८३, आईतवार ०९:२६ प्रकाशित

  • Nabintech